‘काठमाडौं महानगरको कार्यसम्पादन सबैभन्दा कमजोर’

‘काठमाडौं महानगरको कार्यसम्पादन सबैभन्दा कमजोर’


निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपालको राजनीतिमा स्थानीय तहको कार्यसम्पादनलाई लिएर नयाँ बहस सुरु भएको छ । नेपाल नगरपालिका महासङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएका छन् ।

धादिङ-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले लोकप्रिय भनिने नेतृत्वले स्थानीय निकाय सञ्चालनमा नै अपेक्षाकृत नतिजा दिन नसकेको टिप्पणी गरे ।

महासङ्घका अध्यक्ष ढुङ्गानाले आफू देशभरका २९३ वटा नगरपालिकाको साझा संस्थाको नेतृत्व गरिरहेको हैसियतले बालेन्द्र साहको पनि अध्यक्ष रहेको स्मरण गराए । सोही क्रममा उनले काठमाडौं महानगरपालिकाको कार्यसम्पादनलाई लिएर कडा आलोचना गरे ।

आफ्नो मातहतमा रहेका नगरपालिकाहरूमध्ये काठमाडौं महानगरको कार्यसम्पादन सबैभन्दा कमजोर रहेको दाबी गर्दै ढुङ्गानाले निर्वाचित भएको लामो समय बितिसक्दा पनि महानगरले एक पटक पनि सार्वजनिक सुनुवाइ गर्न नसकेको आरोप लगाए ।

महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च) उचित ढङ्गले खर्च गर्न नसकेको विषयलाई उनले प्रमुख कमजोरीका रूपमा औँल्याए ।

‘आफूलाई लोकप्रिय भन्नेहरूले नै स्थानीय निकाय सञ्चालनमा सबैभन्दा कमजोर नेतृत्वलाई नै प्रधानमन्त्रीको उम्मेदवार प्रदर्शन गरिरहेका छन्’- ढुङ्गानाले भने ।

भीमप्रसाद ढुङ्गाना धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) हुन् । उनी २०७९ पुस ६ गते सम्पन्न नेपाल नगरपालिका महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा ५ वर्षका लागि अध्यक्ष चुनिएका हुन् ।

निर्वाचन नजिकिँदै गर्दा महासङ्घका अध्यक्षबाटै आएको यो टिप्पणीले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ । यस विषयमा निवर्तमान मेयर बालेन वा काठमाडौं महानगरपालिकाको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

ज्ञातव्य छ, सन् १९९४ देखि नगरपालिकाहरूको साझा आवाजको रूपमा वकालत गर्दै आएको नगरपालिका महासङ्घमा देशभरका २९३ वटै शहरी स्थानीय तहहरू आवद्ध छन् । महानगरपालिका ६ वटा, उपमहानगरपालिका ११ वटा, नगरपालिका २७६ वटा गरी कुल सदस्य संख्या २९३ वटा रहेको छ ।