जापानमा चुनावलाई लक्षित गरी अनलाइन निगरानीमा कडाइ

जापानमा चुनावलाई लक्षित गरी अनलाइन निगरानीमा कडाइ


  • विशेष सम्वाददाता, टोकियो (जापान)

जापानमा आगामी फेब्रुअरी ८ मा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था थप कडा बनाएको छ । सन् २०२२ मा पूर्व प्रधानमन्त्री सिन्जो आवेको चुनावी सभाका क्रममा गोली हानी हत्या भएपछि लागू गरिएका कडा सुरक्षा उपायहरूअन्तर्गत यो तेस्रो राष्ट्रिय निर्वाचन हो ।

चुनावी अभियान तीव्र बन्दै जाँदा उम्मेदवारमाथि आक्रमणको संकेत दिने सामाजिक सञ्जाल पोस्टहरू बढ्न थालेपछि प्रहरीले अनलाइन निगरानीलाई समेत सशक्त बनाएको छ। चुनावी प्रचारको औपचारिक सुरुआतका दिन टोकियोको अकिहाबारामा आयोजित संयुक्त सभामा प्रधानमन्त्री सानाए ताकाइची ले सम्बोधन गर्दा झोला जाँच कडा बनाइएको थियो र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। सभाका क्रममा नाराबाजी भए पनि कुनै गम्भीर घटना भने भएन।

सिन्जो आवे हत्या घटनापछि नेश्नल पोलिस एजेन्सीले सुरक्षा निर्देशिका संशोधन गर्दै चुनावी स्थलको जोखिम मूल्याङ्कन, सर्वसाधारणसँगको दूरी र पछाडिबाट हुन सक्ने सम्भावित आक्रमणप्रति विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ। साथै, सामाजिक सञ्जालमा धम्कीजन्य गतिविधिको निगरानी बढाएर सम्भावित आतंककारी गतिविधि रोक्ने प्रयास भइरहेको छ ।