आजभोलि बजारमा ‘नयाँ’ भनिएका पार्टीहरूको खुबै चर्चा छ । तर गहिरिएर हेर्ने हो भने, उनीहरू पनि त्यही असफल प्रणाली र विदेशीले कोरिदिएको ‘फ्रेमवर्क’भित्रै रमाउन खोज्दैछन् । पात्र बदलिँदैमा प्रवृत्ति बदलिँदैन । उनीहरूले पनि देशको मूल समस्यालाई भन्दा केवल भोटको राजनीतिलाई प्राथमिकता दिएका छन् ।
✍ समीर पौडेल
नेपालमा जब-जब संकट आउँछ, जनतालाई ‘निर्वाचन’को एउटा गुलियो गोली खुवाइन्छ । भनिन्छ- निर्वाचन नै त्यस्तो अचुक ओखती हो, जसले देशलाई ‘ट्रयाक’ मा ल्याउँछ । तर एक पटक चिसो दिमागले सोचौँ त, सात दशकदेखि हामीले कति पटक निर्वाचन गऱ्यौँ ? कति पटक पात्र फेऱ्यौँ ? तर देश किन झन्-झन् ओरालो लागिरहेको छ ? वास्तविकता के हो भने, हामीले अहिलेसम्म केवल ‘प्रक्रिया’ फेऱ्यौँ, तर त्यो ‘प्रणाली’ फेरेनौँ जसले हाम्रो राष्ट्रिय मौलिकतालाई नै निल्न खोजिरहेको छ।
१. आयातित व्यवस्था र हराएको मौलिकता
हाम्रो मुख्य समस्या भनेकै हाम्रो शासन प्रणालीमा ‘नेपालीपन’ नहुनु हो । चाहे हिजोको पञ्चायत होस्, बहुदल होस् वा आजको गणतन्त्र- यी सबै व्यवस्थामा एउटा कुरा साझा छ- यिनले नेपालको माटो, भूगोल र यहाँको विशिष्ट संस्कृतिलाई कहिल्यै चिनेनन् । हामीले विदेशी सिद्धान्तको हुबहु नक्कल त गऱ्यौँ, तर आफ्नो इतिहास बिर्सियौँ । विकास आफैँमा कुनै जादु होइन, यो त एउटा सही प्रणालीको उपज मात्र हो । जब प्रणाली नै पराया र अप्राकृतिक हुन्छ, तब त्यहाँ विकास होइन, केवल विदेशीको स्वार्थ र भ्रष्टाचार मात्र मौलाउँछ ।
२. ‘नयाँ’ शक्ति : पुरानै सिक्काका अर्का पाटा
आजभोलि बजारमा ‘नयाँ’ भनिएका पार्टीहरूको खुबै चर्चा छ । तर गहिरिएर हेर्ने हो भने, उनीहरू पनि त्यही असफल प्रणाली र विदेशीले कोरिदिएको ‘फ्रेमवर्क’भित्रै रमाउन खोज्दैछन् । पात्र बदलिँदैमा प्रवृत्ति बदलिँदैन । उनीहरूले पनि देशको मूल समस्या (Systemic Issue) लाई भन्दा केवल भोटको राजनीतिलाई प्राथमिकता दिएका छन् । यदि उनीहरूले पनि देशको मौलिकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्न सक्दैनन् भने, तिनीहरू केवल पुरानै सडेको मेसिनका नयाँ पुर्जा मात्र साबित हुनेछन् ।
आज देश विदेशी शक्तिहरूको क्रिडास्थल बनेको छ । शासक र कर्मचारीतन्त्रको बेइमानीले गर्दा आज अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख इतिहासकै कमजोर मोडमा पुगेको छ ।
३. राष्ट्रिय संस्थाको विनाश र भू-राजनीतिक जोखिम
नेपाली राष्ट्रियताको एउटा बलियो खम्बा राजसंस्था थियो । यो केवल एउटा व्यक्ति वा परिवारको कुरा थिएन, यसले समग्र नेपालको एकता र हाम्रो छुट्टै पहिचानको प्रतिनिधित्व गर्थ्यो । त्यसलाई विस्थापित गरिएपछि आज देश विदेशी शक्तिहरूको क्रिडास्थल बनेको छ । लोकतन्त्रको नारा दिने कांग्रेस र एमाले जस्ता दलहरू आज सत्ताको सौदाबाजीका लागि माओवादीको अस्थिर भिजनको भरिया बनेका छन् । शासक र कर्मचारीतन्त्रको बेइमानीले गर्दा आज अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख इतिहासकै कमजोर मोडमा पुगेको छ ।
४. अबको बाटो : पहिले एकता, अनि मात्र निर्वाचन
हामीले बुझ्नुपर्छ कि निर्वाचन आफैँमा समाधान होइन । गलत सिस्टममा गरिने निर्वाचनले केवल गलत मान्छेलाई वैधानिकता मात्र दिन्छ। त्यसैले अबको बाटो स्पष्ट हुनुपर्छ-
* राष्ट्रिय स्व-विचारधारा : हामीलाई आयातित ‘वाद’ होइन, हाम्रो इतिहास र भूगोल सुहाउँदो आफ्नै मौलिक सिद्धान्त चाहिन्छ ।
* प्रणालीको पुनर्स्थापना : राष्ट्रियताको प्रतीक (राजसंस्था) र हाम्रा मूल्य-मान्यतालाई राज्यको मूल प्रणालीमा नअटाएसम्म देशको जग बलियो हुँदैन ।
* निकास : पहिले देशलाई राष्ट्रिय एकताको सूत्रमा बाँधौँ, एउटा सही र मौलिक ‘सिस्टम’ तयार गरौँ, र त्यसपछि मात्र निर्वाचनमा जाऔँ। प्रणाली ठिक भएपछि मात्र सही नेतृत्व जन्मिन्छ।
निष्कर्ष
नेपाललाई अरूको इसारा वा पराया विचारले होइन, आफ्नै मौलिक पद्धतिले मात्र ट्रयाकमा ल्याउन सकिन्छ । अहिलेको आवश्यकता केवल भोट हाल्नु वा नेता फेर्नु मात्र होइन, बरु ग्राउन्ड लेभलबाटै राष्ट्रियताको एउटा नयाँ जग निर्माण गर्नु हो । कि त हामीले राष्ट्रियताको जगमा उभिएर प्रणाली सुधार गर्नुपर्छ, नत्र यो देश विघटनको साक्षी बन्नुपर्ने दिन टाढा छैन । त्यसैले, सबै राष्ट्रवादी शक्तिहरू र राजसंस्था लगायतका शक्तिहरू अब राष्ट्रिय स्वार्थका लागि एक ठाउँमा उभिनैपर्छ।
प्रतिक्रिया