सराङ्कोट पदयात्राले पानीको विषयमा अध्ययन गर्ने प्रेरणा मिलेको जापानी सम्राटको खुलासा

सराङ्कोट पदयात्राले पानीको विषयमा अध्ययन गर्ने प्रेरणा मिलेको जापानी सम्राटको खुलासा


  • विशेष प्रतिनिधि, जापान (टोकियो)

राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार (२० माघ) यहाँ शिष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा भेटवार्ता भएको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो ।

सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

“जापानले नेपाललाई मानव संशाधन, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नालगायतका क्षेत्रमा सहयोग गरिरहेको छ, यसबाट नेपाल र नेपाली अत्यन्त लाभान्वित भएका छन्”, जापानका सम्राट नारुहितोसँग भएको कुराकानीमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

उहाँले दुवै देश गौतम बुद्धको शिक्षा र आर्दशबाट प्रेरित रहेको पनि बताउनुभयो । ‘बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीचको सम्बन्धलाई सुमधुर बनाउन बलियो पुलको काम गरेको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

दुबै देशबीच इतिहास, संस्कृति र आपसी सहयोगमा लामो समयदेखि आधारित सम्बन्ध, कूटनीतिक सम्बन्ध स्थापनायता अझ निकट र गहिरो मित्रताको साथ अघि बढेको राष्ट्रपति पौडेलको भनाइ थियो । ‘यस वर्ष हामीले मनाउँदै गरेको नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हामी बीच स्थापीत द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा हो’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुबै देशबीचको सम्बन्धलाई थप मजबुत बताएको बताउँदै राष्ट्रपति पौडेलले सन् १९८७ मा राजकुमारका रुपमा सम्राट नारुहितोले गर्नुभएको मैत्रीपूर्ण तथा विशिष्ठ भ्रमणका क्रममा काठमाडौ, भक्तपुर, पोखरा र लुम्बिनीको भ्रमणको स्मरण गर्नुभयो । साथै, उहाँले सन् २०२० मा आफूलाई ग्राण्ड कर्डन अफ दी अर्डर अफ दि राइजिङ सन् (Grand Cordon of the Order of the Rising Sun)बाट विभुषित गरेकोमा सम्राट र जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल सरकार र जनताका तर्फबाट जापान सरकारको सद्भावना र सहयोगका लागि आभार प्रकट गर्दै सम्राट र साम्राज्ञीलाई अनुकुल समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो ।

सो अवसरमा जापानका सम्राट नारुहितोले नेपाल जापान कूटनीतिक सम्बन्धको वार्षिकोत्सव हर्षोल्लासका साथ मनाउनुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले सन् १९८६ मा आफूले गरेको नेपाल भ्रमणको याद आफूलाई अझै ताजै रहेको उल्लेख गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

सम्राट नारुहितोले पोखरामा सराङ्कोट पदयात्रा गर्दा त्यहाँ महिलाहरूले खानेपानीका लागि गाग्री थापेको दृश्य देखेर पानीका विषयमा अध्ययन गर्ने प्रेरणा प्राप्त भएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले नेपाललाई जापानले सकेसम्म सहयोग गर्ने बताउँदै प्राकृतिक विपद्हरुमा दुवै देशले एक अर्कालाई सहयोग गर्दै आएको स्मरण गर्नुभयो ।

सम्राट नारुहितोले नेपाल जापान सम्बन्ध विकासमा राष्ट्रपति पौडेलले पुऱ्याउनुभएको योगदानलाई सम्झेर जापानले सम्मान गरेको बताउनुभएको थियो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुग्नुभएको हो ।

उहाँले यसअघि सोमबार नै जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो भने जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले उहाँसँग शीष्टाचार भेट गर्नुभएको थियो ।

जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन गर्नुभयो । साथै, उहाँले यहास्थित नेपाली राजदूतावासको अवलोकन पनि गर्नुभयो ।

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

राष्ट्रपति रामचन्द्र पौडेललाई जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेललाई जापान सरकारले मंगलबार ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

यस्तै, राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको स्पष्ट पार्नुभयो ।

‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ’, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उहाँको भनाइ थियो ।

‘नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैँ सहयोग र सद्भाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भन्नुभयो । विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुवै देशका जनताबीच बलियो पुलको काम गरेको उहाँको भनाइ थियो । उहाँले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताउनुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलको भनाइ छ ।

प्रधानमन्त्री सनायले नेपाल जापान कूटनीतिक सम्बन्धका अवसरमा दुबै देशबीच झन प्रगाढ होस् भन्दै जापानले नेपालको सूूचना प्रविधिको क्षेत्रमा र लोकतन्त्रका लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभएको थियो ।