अनपेक्षित समयमा गराउन लागिएको यसपटकको निर्वाचनले एकसाथ अनेक रेकर्ड तोडेको छ । सबैभन्दा पहिलो तथ्य यो निर्वाचन मध्यावधिमा हुँदैछ तर यो कुनै प्रधानमन्त्रीले आफ्नो अनुकुल संसद् बनोस् भन्ने उद्देश्यले सम्विधानअनुसार संसद् विघटन गरेर आयोजना गरिएको मध्यावधि होइन । त्यसैले पूरा कार्यकालको तीन वर्ष नबित्दै गरिएको चुनाव भएपनि यो मध्यावधी होइन । दोस्रो, यो निर्वाचन संविधान भन्दा बाहिरबाट बनेको सरकारले गराउँदैछ । तेस्रो, निर्वाचन गराउन गठन गरिएको सरकार आफै कालान्तरमा एउटा दलविशेषको भएको प्रमाणित हुन पुगेको छ । संसदमा समानुपातिकसहित एक्काईस स्थान ल्याएर चौथो बनेको दलका मानिसहरू जो जेन्जीको नाममा भएको विध्वङ्शमा अगुवाइ गर्दै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र शितल निवास जलाउनेदेखि जेल फोडेर कैदी भगाउनेसम्मको कार्यमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा संलग्न भएकाहरू नै चुनावी सरकारमा सहभागी भएको पुष्टि हुन पुगेको छ । नागरिक सरकार दाबी गरिएको मन्त्रिमण्डलमा सामेल सबै ब्यक्तिहरू रास्वपाका कार्यकर्ता, समर्थक या शुभेच्छुक रहेको स्पष्ट भएको छ । प्रधानमन्त्रीका सल्लाहकारसमेत रास्वपासम्बद्ध रहेका छन् । त्यसैले नागरिकका नाममा एउटा दलविशेषको अन्तरिम सरकार बनेको हुनाले पनि यसले बेग्लै सन्देश दिएको छ ।
यो निर्वाचनले अर्को रेकर्ड के तोडेको छ भने यसपटक दलहरूले घोषणापत्र प्रस्तुत गर्ने कुरालाई भन्दा आफ्नो तर्फबाट बन्ने प्रधानमन्त्री तोकेर चुनावी मैदानमा उत्रने कुरालाई प्राथमिकतामा राखेका छन् । यसबाट नीतिले होइन देश बनाउने नेताले हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ र यसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणातर्फ देशलाई लैजान खोजेको सङ्केतका रूपमा पनि लिइएको छ । निर्वाचनले तोडेको अर्को रेकर्ड झन् खतरनाक देखिन्छ । पहिलेका निर्वाचनमा विकाश, समृद्धि र कार्ययोजना देखाएर मत मागिन्थ्यो, यसपटक आफूले जितेमा अर्को पक्षलाई कसरी सिध्याइन्छ भन्ने प्रतिशोधी प्रलाप ज्यादा देखिएको छ। यसले चुनावपछि मुलुक झन अराजकता र अन्यौलमा फस्ने सङ्केत दिएको छ।
यसअघिका निर्वाचनमा राजधानीमा सबै नेपालीको ज्यादा ध्यानाकर्षण हुने गर्दथ्यो । तर, यसपटक काठमाडौं उपत्यकाका निर्वाचन क्षेत्रहरूमा आम जनताको ध्यान आकर्षित भैरहेको छैन । काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले नेता ईश्वर पोखरेल उम्मेदवार बन्नुभएको र त्यसक्षेत्रमा काङ्ग्रेसका युवा नेता प्रदिप पौडेलले भन्दा मतदाताको सहानुभूति प्राप्त गर्ने अवस्था रहेकोले परिणाम उहाँको पक्षमा जानसक्ने ठानिएको छ । तर स्वतन्त्र जानकारहरू उक्त क्षेत्रमा त्रिपक्षीय टक्कर हुने अनुमान गर्दैछन् ।
ललितपुरका तीन क्षेत्रमध्ये एक नम्बरमा काङ्ग्रेसका युवा नेता उदय शमशेर बलियो देखिएका छन् । दुईमा एमाले अगाडि देखिएको छ भने तीन नम्बर क्षेत्रमा काङ्ग्रेस र एमालेबीच मुख्य प्रतिष्पर्धा हुने सम्भावना छ । यसअघिकी विजेता तोसिमा कार्की यसपटक नराम्रोसङ्ग पराजित हुने स्थितिमा छिन् । काङ्ग्रेस र एमालेमध्ये कसैले अलिक उचाइदार ब्यक्तिलाई उम्मेदवार बनाएको भए तोसिमाले यसपालि जमानत बचाउन पनि मुस्किल पर्ने स्थिति थियो । काठ्माडौंको एक नम्बर क्षेत्रलाई काङ्ग्रेसको गढ मानिन्छ, तर प्रकाशमान सिंह पुनः उम्मेदवार बन्नुभएको भए यसपटक रविन्द्र मिश्रले बाजी मार्ने निश्चितप्रायः थियो । काङ्ग्रेसले युवा उम्मेदवार प्रवल थापालाई प्रस्तुत गरेको छ र नयाँ अनुहार भएकोले काङ्ग्रेस नै अगाडि देखिएको छ । गगन थापाले सिंहदरबार जलाउन मुख्य भूमिका निर्बाह गर्नेमध्येकी एक युथ काउन्सिलकी रक्षा बम नामक युवतीलाई उम्मेदवार बनाउन प्रयास गरेको तर त्यसको व्यापक विरोध भएपछि प्रवल थापालाई प्रस्तुत गरिएको हो । रास्वपाले उम्मेदवार बनाएको रन्जु दर्शना र रविन्द्र मिश्र पहिले एउटै दल (विवेकशील साझा पार्टी)मा थिए, मेयरमा राम्रै मत ल्याएकी रन्जु र रविन्द्रबीच दोस्रो स्थानका निम्ति कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
देशका सबैभन्दा चर्चा पाएको निर्वाचन क्षेत्रका रूपमा झापा ५ लाई लिइन्छ । सामाजिक सन्जालमा लुसिफर उपनामले चिनिने बालेन्द्र साहको चर्चा अधिक रहेपनि सो क्षेत्रमा केपी शर्मा ओलीको पल्ला निकै भारी देखिन्छ । यसअघिको निर्वाचनमा केपी अट्ठाइस हजार पाँच सय मतको अन्तरले विजयी बन्नुभएको थियो । यसपटक सोही स्तरको मतान्तर हुने परिस्थिति अहिलेसम्म बनेको छैन । तर चेतनशील मानिएको झापाबासीहरूमा सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलाउनेहरूप्रति चरम घृणा रहेको र टुरिष्ट उम्मेदवारका रूपमा बालेन्द्रलाई लिने गरिएको हुँदा उनको पराजय निश्चित मानिएको छ । तर केपी पहिले भन्दा अलिक मेहनत गर्नुपर्ने स्थितिमा रहनुभएको बताइन्छ ।
त्यस्तै, अर्को चर्चाको केन्द्र बनेको निर्वाचन क्षेत्र सर्लाही चार मा डा. अमरेश कुमार सिंहलाई टक्कर दिन गगन कुमार थापा आफै कस्सिनुभएको छ । तर पहिले काङ्ग्रेसको टिकटबाट विजयी बन्दै आउनुभएका डा. सिंहले पछिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर पनि काङ्ग्रेसलाई पराजित गर्न सफल हुनुभएको थियो । अहिले पनि सो क्षेत्रमा अमरेश निकै बलिया देखिएका छन् । कुनै न कुनै स्तरको ‘अतिरिक्त क्रियाकलाप’ नगरिकन विजय हात पार्न सकिने स्थितिमा गगन देखिनुभएको छैन । अमरेश स्थानीय उम्मेदवार भएको र त्यहाँको विकाश-निर्माणमा उहाँको सर्वोच्च योगदान रहेकोले जनस्तरमा अमरेश लोकप्रिय मानिनुहुन्छ । तर मधेश तराईका मतदाता ‘पावर र पैसा’लाई समेत दृष्टिगत गरेर मतदान गर्ने स्वभावका भएकोले गगनप्रति आकर्षित हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । अर्कोतिर जुन अन्तर्राष्ट्रिय शक्तिले गगनलाई सीमा क्षेत्रमा उम्मेदवार बनाउन प्रेरित गर्यो, उसले जसरी भएपनि गगनलाई जिताइदिने रणनीति बनाउन सक्ने प्रबल सम्भावना छ ।
सर्लाहीको तीन नम्बर क्षेत्रमा तारा चिन्ह लिएर नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्नुभएको छ । यसअघिका विजयी हरि उप्रेतीप्रति असन्तुष्टि बढेको र नारायणकाजी श्रेष्ठको छवि राम्रो भएकोले त्यसक्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार बन्न उहाँ सफल हुनुभएको छ । सङ्गठनको प्रभाव राम्रो रहेको र स्थानीय प्रभावकारी ब्यक्तिहरूको साथ श्रेष्ठलाई भएकोले यसपटक उहाँले प्रतिनिधिसभामा प्रवेश पाउने सम्भावना देखिएको छ । त्यस क्षेत्रमा रासपाको उम्मेदवार बनेका नगेन्द्र साह र हरि उप्रेतीबीच दोस्रो बन्नका निम्ति कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
मन्त्री भएपछि अधिकाङ्श मानिसले आफ्नो छवि जोगाउन सकेका हुँदैनन् । पटकपटक मन्त्री भएर पनि कहिल्यै कुनै आरोप नलागेका नेतामा पूर्णबहादुर खड्काको नाम आउँछ, तर खड्का यसपालि उम्मेदवार बन्नुभएको छैन । मन्त्री भएर पनि आफ्नो छवि जोगाउन सक्ने नेताको रूपमा एनपी सावदको नाम पनि लिइन्छ, उहाँले कन्चनपुर दुईमा उम्मेदवारी दिनुभएको छ । नारायणकाजी श्रेष्ठको छवि स्वच्छ त छँदै थियो, मन्त्री बनेपछि उहाँले भ्रष्टाचारविरोधी ‘एक्सन ओरिएण्टेड’ नेताको रूपमा आफूलाई स्थापित गराउन सक्नुभएको छ । स्वच्छ छविका मानिने काङ्ग्रेस नेता डा. शेखर कोइराला मोरङ्गबाट यसपटक पनि विजयी बन्ने सम्भावना रहेको छ । काङ्ग्रेस नेता चन्द्र भण्डारी र एमाले नेता प्रदिप ज्ञवाली एउटै निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । चन्द्रले यसपालि सहानुभूतिको मत पाउने देखिएको छ ।
देशभर सोसल मिडियामा चर्चा पाउन सफल रास्वपाले चर्चा पाए जस्तै गरि मत पनि पाउने हो भने सबैभन्दा ठूलो पार्टीको हैसियत उसैले बनाउने निष्कर्षमा पुग्न सकिन्छ । तर चुनावी माहौल बन्दै जाँदा फागुन पहिलो सातामा मात्रै कसको स्थिति के हुने भन्ने कुराको अनुमान गर्न सकिनेछ । यसपटकको निर्वाचनमा प्रधानमन्त्रीका रूपमा अघिसारिएका सबै उम्मेदवारहरू मोफसलमा रहेकोले पहिलो पटक काठमाडौं ओझेलमा परेको छ ।
प्रतिक्रिया