वीरगञ्जमा जुलुस निकाल्ने तयारी गरेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्जमा जुलुस निकाल्ने तयारी गरेका दुर्गा प्रसाईं पक्राउ


आफूलाई ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजकको रुपमा चिनाउन चाहने मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् ।

निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको आरोपमा अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई आज (२३ माघ) काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको हो ।

प्रसाईंले आज बिहान एक भिडिओ सन्देश जारी गरेर भोलि वीरगञ्जमा जुलुस निकाल्ने तयारी भइरहेको जानकारी गराएका थिए । यसपछि उनी पक्राउ परेका हुन् ।

निर्वाचन आयोगले प्रसाईंले आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको र आयोगको सोही पत्रका आधारमा उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जनाएका छन् ।

ज्ञातव्य छ, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको भनी दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रसाईं यही माघ ५ गते पनि पोखराबाट पक्राउ परेका थिए ।