वीरगञ्जमा मान्छे नभएको घरमा लक्षित गर्दै गरगहनाको चोरी

वीरगञ्जमा मान्छे नभएको घरमा लक्षित गर्दै गरगहनाको चोरी


वीरगञ्ज महानगरमा सुन-चाँदीलगायतको गरगहना चोरीका घटना बढेका छन् । यही माघ १२ गते वीरगञ्ज महानगर-१५ स्थित एनआई कलेज जाने सडकनजिकै रहेको श्यामकिशोरलाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको हो ।

घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्तिले सो मूल्य बराबरको सुनचाँदीको गरगहना चोरेर फरार भएको प्रहरीको भनाइ छ ।

यही माघ १३ गते त्यस्तै वीरगञ्ज महानगर–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकिन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदी लगायतका गरगहना चोरी भएको देखाउँछ ।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायतको गरगहनाको चोरीका घटना भएको जानकारी दिँदै भनेका छन्, ‘केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ, अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौं ।’

पर्सा प्रहरीका प्रवक्ता बस्नेतले जुन घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताए । ‘सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानको लागि सर्वसाधारण समक्ष अनुरोध गर्दछौंँ । त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ’, प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताए ।

पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौजना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेका १३ प्रतिवादी पूर्पक्षका लागि थुनामामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन् । हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । जसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पूर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन् । दुई जना साधारण तारेखमा छुटेका थिए ।