निर्वाचनअघि नै जापानका प्रधानमन्त्रीलाई अमेरिकी प्रधानमन्त्रीको खुला समर्थन !

निर्वाचनअघि नै जापानका प्रधानमन्त्रीलाई अमेरिकी प्रधानमन्त्रीको खुला समर्थन !


  • विशेष प्रतिनिधि, जाापान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानको प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री सानाए ताकाइचीलाई पूर्ण समर्थन (एन्डोर्समेन्ट) जनाएका छन् । उनले ताकाइचीलाई ‘बलियो, शक्तिशाली र बुद्धिमान नेतृत्वकर्ता’ भन्दै प्रशंसा गरेका छन् । साथै, ट्रम्पले ताकाइचीलाई आगामी मार्च १९ मा ह्वाइट हाउस भ्रमणका लागि स्वागत गर्ने घोषणा गरेका पनि छन् ।

विदेशी मुलुकको राष्ट्रिय निर्वाचनअघि कुनै देशका राष्ट्रप्रमुखले विशिष्ट उम्मेदवारलाई खुला समर्थन जनाउनु दुर्लभ मानिन्छ । सामाजिक सञ्जालमार्फत ट्रम्पले आइतबार हुने निर्वाचन जापानको भविष्यका लागि ‘अत्यन्त महत्वपूर्ण’ रहेको उल्लेख गर्दै ताकाइची र उनको गठबन्धनको कामको उच्च मूल्यांकन गरेका छन् । करिब ३ महिना अघि जापानमा भएको भेटवार्ताबाट आफू र आफ्नो टोली प्रभावित भएको पनि उनले जनाएका छन् ।

प्रधानमन्त्री बनेपछि गत अक्टोबरपछि ताकाइचीको यो पहिलो अमेरिका भ्रमण हुनेछ । सो भ्रमण वासिङ्टनमा आयोजना हुने वार्षिक चेरी ब्लोसम फेस्टिभल (मार्च २० बाट सुरु) सँगै पर्नेछ । सन् १९१२ मा टोकियोबाट अमेरिकालाई चेरीका रुख उपहार दिइएको सम्झनामा मनाइने यो उत्सव दुई देशबीचको दीर्घकालीन मित्रताको प्रतीक मानिन्छ।

यसअघि टोकियोमा भएको भेटमा दुवै नेताले सन् २०२६ मा अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्षगाँठ संयुक्त रूपमा मनाउने सहमति जनाएका थिए । त्यसक्रममा जापानले २५० वटा चेरीका बिरुवा उपहार दिने प्रतिबद्धता पनि दोहोर्‍याएको थियो। आगामी भेटमा दुवैले जापान–अमेरिका सुरक्षा गठबन्धन र आर्थिक सहकार्यलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

गत वर्ष सम्पन्न व्यापार सम्झौताअन्तर्गत जापानले अर्धचालक (सेमिकन्डक्टर) र महत्वपूर्ण खनिज लगायत रणनीतिक क्षेत्रमा ५५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो परियोजनासँग सम्बन्धित प्रगतिबारे पनि दुवै नेताबीच छलफल हुने बताइएको छ।

ताकाइचीको अमेरिका भ्रमणपछि राष्ट्रपति ट्रम्पको अप्रिलमा चीन भ्रमण गर्ने योजना रहेको छ । ताइवान स्ट्रेट संकटसम्बन्धी ताकाइचीका अभिव्यक्तिलाई लिएर चीनले कडा धारणा राख्दै आएको सन्दर्भमा यो कूटनीतिक गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।