फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पात्रहरू यतिबेला प्रचारप्रसारमा व्यस्त छन् । प्रायःजसो उम्मेदवार पुरानै एजेण्डा बोकेर जनतासँग मत मागिरहेका छन् । तर, काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट ‘ठेकी’ चुनाव चिन्ह लिएर उठेका उमेश थापाको एजेण्डा अरुभन्दा फरक र नयाँ छन् । युवा पुस्ताका उनी जनताको समस्या समाधानका लागि पहिलो आवश्यकता सुशासन र इमान्दार नेतृत्व भएको बताउँछन् ।
भुम्लु गाउँपालिका–२, सिम्थलीका ३० वर्षीय थापा राजनीतिमा नयाँ अनुहार हुन् । नवीन सोच, देश र जनतामा समर्पित भएर केही गर्छु भन्ने ऊर्जा उनमा देखिन्छ । स्नातक सकाएका थापा पत्रकारिता पेशाबाट आएका हुन् । पत्रकार हुँदा देश र जनताको समस्या तथा समाजमा भएका बेतिथि सशक्त रुपमा उठाएका उनी त्यसको समाधानका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । भन्छन्, ‘पत्रकारले समस्या उठाउने हो, समाधान गर्ने जनताबाट चुनिएर गएको प्रतिनिधिले हो । पत्रकार हुँदा जनताको धेरै समस्या उठाए । त्यसको समाधान खोज्दै राजनीतिमा होमिएको हुँ ।’
थापाको भनाइमा जनताको समस्या समाधान गर्ने अचुक उपाय इमान्दार नेतृत्व हो । राजनीतिमा इमान्दारिताको अभाव हुँदै गएको उनको जिकिर छ । उनका अनुसार जनतालाई सपना देखाउने र जितेपछि सबै बाचा बिर्सिने प्रवृत्तिले राजनीतिप्रति जनविश्वास हराउँदै गएको छ । तर, आफूबाट कदापि त्यस्तो नहुने उनले बताए । मतदाताले मौका दिएमा काम गरेर देखाउने उनले सुनाए । इमान्दार नेतृत्व बनेर राजनीतिमा हराएको जनविश्वास फर्काएरै छाड्ने थापाको दाबी छ । ‘म ठूला कुराभन्दा पनि काम गरेर देखाउनमा बढी विश्वास गर्छु । मतदाताले मलाई मौका दिनुभयो भने म त्यो कुरा प्रमाणित गरेर देखाउँछु’, उनले भने ।
काभ्रे–२ पुराना राजनीतिक दलहरूको पकड भएको क्षेत्र हो । एमाले, कांग्रेस र माओवादीले पालैपालो जितिरहेको क्षेत्रमा स्वतन्त्रलाई जित्न मुस्किल पर्ने देखिन्छ । राजनीतिक दलका उम्मेदवारको काम हेरिसकेको उल्लेख गर्दै थापाले मतदाताले परिवर्तन खोजेको बताए । जनताले पार्टीभन्दा पनि काम गर्ने, आफ्ना समस्या सुनिदिने, समाधानमा पहल गर्ने उम्मेदवार खोजिरहेको उनको भनाइ छ । भन्छन्, ‘जतिचोटि देशमा चुनाव भयो, त्यतिचोटि राजनीतिक दलको उम्मेदवारले जित्नुभयो । तर, उहाँहरुले जनताको समस्या सम्बोधनमा कुनै पहल गर्नुभएन । यसपटक जनताले पार्टी होइन, काम गर्ने उम्मेदवार खोज्नुभएको छ । परिवर्तनको पक्षमा उभिनुभएको मतदाताले परिवर्तन ल्याएरै छोड्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’
मतदाताले आफूलाई जिताएर पठाएमा कानुन निर्माण र स्थानीय मुद्दाको उठानमा सशक्त रुपमा लागिपर्ने थापा बताउँछन् । जनताको समस्या समाधान गर्न सरोकारवालालाई घच्घचाउन कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ । स्थानीय विकासमा केन्द्रित भएर लाग्ने उल्लेख गर्दै उनले आफूले गरेको कामको प्रगति विवरण जनतासमक्ष पेश गर्ने पनि बताएका छन् । जनताले दिएको जिम्मेवारी पुरा गर्न आफू अहोरात्र खटिरहने र चुनावपछि जनप्रतिनिधि हराउने परिपाटी बदल्ने उनको भनाइ छ । जनतासँगै बसेर काम गर्ने पनि उनले बताए । मत माग्दा मात्र होइन, चुनाव जितेपछि पनि घर–घरमा गएर जनताको समस्या बुझ्ने प्रतिबद्धता उनले जनाएका छन् ।
प्रतिक्रिया