फिल्म अभिनेता सुनिल थापाको निधन

फिल्म अभिनेता सुनिल थापाको निधन


फिल्म अभिनेता सुनिल थापाको निधन भएको छ । हृदयघात भएपछि उपचारका लागि थापाथली (काठमाडौं)स्थित नर्भिक अस्पताल पुऱ्याइएका वरिष्ठ कलाकार थापाको उपचारका क्रममा आज (२४ माघ) बिहान निधन भएको हो।

बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।

पारिवारिक सदस्यहरु भारत मुम्बईमा रहेकाले आफन्तजन आएपछि मात्र आधिकारिक रुपमा मृत्यु घोषणा गर्ने अस्पतालको तयारी रहेको जनाइएको छ।

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका कलाकार थापा नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए ।

अभिनेता थापाका श्रीमती, एक छोरी र एक छोरा छन् ।