नेपाली कांग्रेसले वरिष्ठ अभिनेता सुनिल थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुुलालले एक शोक विज्ञप्ति जारी गरी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ६८ वर्षको उमेरमा थापाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
वरिष्ठ अभिनेता थापाको असामयिक निधनले नेपाली मात्र नभइ भारतीय चलचित्र क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको कांग्रेसले उल्लेख गरेको छ । बहुआयामिक व्यक्तित्व, कर्मशील कलाकार र अनुकरणीय स्रष्टाका रूपमा थापाले छोडेर जानुभएको रिक्तता लामो समयसम्म महसुस भइरहने कांग्रेसले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ पात्रलाई पनि नायक सरहको उचाइ, गरिमा र सम्मान दिलाउन सफल स्वर्गीय थापा ‘राते काइँला’का नामबाट आमदर्शकमाझ अत्यन्त लोकप्रिय र स्मरणीय रहेको कांग्रेसले बताएको छ ।
चार दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकुद तथा चलचित्र उद्योगका विविध आयाममा उनले पुर्याएको सशक्त, समर्पित र प्रेरणादायी योगदान नेपाली चलचित्र इतिहासमा सदा अमिट रूपमा अङ्कित रहने कांग्रेसको धारणा छ ।
प्रतिक्रिया