सुस्तामा अवैध हतियार बरामद

सुस्तामा अवैध हतियार बरामद


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी सुस्तामा प्रहरीले अवैध हतियार बरामद गरेको छ । सुस्ता गाउँपालिका बलीनगर बस्ने वर्ष ४६ को श्रीराम पटेल भनिने श्रीराम कुर्मीको घरकोठामा अवैध हतियार लुकाइ राखेको सुचनाको आधारमा हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिएका छन् ।

अवैध हतियार बन्दुक लुकाइराखेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको कमान्डमा प्रहरी चौकी रामनगरका प्रहरी सहायक निरीक्षक पराग यादव र सशस्त्र प्रहरी बल बिओपी बलीनगरका सशस्त्र प्रहरी निरीक्षक प्रवीन दत्तको संयुक्त टोलीले घरको खानतलासी गर्दा श्रीराम पटेल भन्ने श्रीराम कुर्मीको घरको माथिल्लो तल्ला कोठामा लुकाइराखेको अवस्थामा १२ बोर एकनाले बन्दुक थान १, कार्टिज थान २,खाली खोका थान १ र केही छर्रा तथा छर्रा बनाउने साँचो फेला परेको थियो ।

बरामद भएको अवैध हतियार र खाली खोका लगायतका सामाग्री बरामद गरिएको थियो भने अभियुक्त कुर्मीको खोजी कार्य भइरहेको जानकारीमा आएको छ। घटनालाई सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिएको पनि प्रहरीको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचन आउन केही समय बाकी रहदा सुस्ता गाउँपालिका ५ मा प्रहरीले अवैध रुपमा राखेको बन्दुक फेला परेपछि सिमा क्षेत्रका मतदाताहरुमा त्रास बढेको पनि बुझिएको छ ।