- विशेष प्रतिनिधि, टोकियो (जापान)
जापानको सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टीले आइतबार (८ फरवरी) सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा स्पष्ट दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।
गएराति अबेर सार्वजनिक भएको नतिजाअनुसार लिवरल डेमोक्र्याटिक पार्टीले ४६५ सिट मध्ये ३१६ सिटमा जीत हासिल गर्दै दुई तिहाइ बहुमत प्राप्त गरेको हो । जापानमा कुनै एउटै दलले दुई तिहाइ मत प्राप्त गरेको दोश्रो विश्वयुद्धपछि यो पहिलो पटक हो ।
दुई तिहाइ बहुमतसहित संसद् प्रवेश गरेको लिवरल डेमोक्र्याटिक पार्टीले उपल्लो सदनबाट अस्वीकार भएका विधेयकहरू पुनः पारित गर्न र संविधान संशोधन प्रस्ताव अघि बढाउन सक्ने शक्ति प्राप्त गरेको छ ।
प्रधानमन्त्री ताखाइचि सानाएले सत्ता-सहकार्य गरिरहेको निहोन इसिन नो खाइ पार्टीसँगको सहकार्यलाई निरन्तरता दिनसक्ने बताएकी छिन् । पार्टीले बहुमत प्राप्त गरेपछि एनएचके टेलिभिजनसँगको अन्तरवार्तामा उक्त पार्टीसँगको सहकार्यबारे पहिलेको भावनामा कुनै बदलाव नआएको उनले बताएकी हुन् ।
प्रधानमन्त्री ताखाइचि सानाएले पार्टी एक्लैले बहुमत प्राप्त गरेपछि एनएचके टिभिमा अन्तरवार्ता दिएकी थिइन् । तर मध्यरातमा दुई तिहाइ कटेपछि सत्ता सहकार्य के हुन्छ भन्ने एकीन भइसकेको छैन ।
प्रधानमन्त्री सानाएले यही टिमको मन्त्रिपरिषदलाई निरन्तरता दिनसक्ने संकेत समेत गरेकी छन् । ‘अहिलेको मन्त्रिपरिषद् राम्रो टिम छ, सरकार गठन भएको तीन महिनामात्र भए पनि सबैले मेहनत गरिरहेका छन् र परिणाम देखिन थालेको छ’, उनले भनेकी छन्- ‘त्यसैले अहिले मन्त्री परिवर्तन गर्ने सोच छैन ।’
विपक्षी पक्षदलको मध्यमार्गी सुधार गठबन्धनले जम्मा ४९ सिट मात्र जितेको छ । यो संख्या चुनावअघि रहेको १७२ सिटको एक तिहाइभन्दा पनि कम हो ।
प्रतिक्रिया