लघुकथा
✍ आचार्य प्रभा
‘बाबु ! तिमी त हिजोअस्ति यो धर्तीमा आएका.. मलाई के सिकाउँछौ ? मैले त तिमीलेभन्दा सयौं गुणा बढी भोटो फटाइसकेको छु ।’
हजुरबाको अभिब्यक्ति सुनेर अनिलले भन्यो- ‘हजुरबा ! हजुरले मैलेभन्दा सयौं गुणा भोटो फटाइसक्नुभयो – म बुझ्छु । उसोभए ती नेताहरूले पनि राजनीतिका लाखौं कुर्सी भँचाइसके होलान्, तर आजसम्म तिनीहरूका बुद्धिचाहिँ किन नफिरेको होला ? मान्छे वृद्ध भए भन्दैमा बुद्धि मात्र भएर हुन्न, विवेक पनि चाहिन्छ । हजुरको उमेरकाहरूको बुद्धि त छ तर विवेकहीन भएकोले आज देश यसरी दलदलमा फस्दैछ ।’
‘वृद्धहरू विवेकहीन हुन्छन् भन्ने कसरी जान्यौ ?’ – हजुरबाले हार नमानी प्रश्न राखे ।
‘हजुरहरूको पनि विवेक कहाँ रहेछ र ? विवेक भएको भए भ्रष्टहरूका आश्वासनमा मग्न बन्नुहुन्थ्यो ? न हजुरका उमेरका नेताहरूमा विवेक नै पलायो । ती बुद्धिमात्र भएर नै भ्रष्ट बने, विवेक भएका भए देशलाई यसरी नर्कमा धकेल्ने थिएनन् । त्यसैले आज नयाँ पुस्ता जन्मिए – बुढाहरूलाई विवेकको काम देखाउन ।’
नातीको विवेकशील कुरा सुनेर हजुरबा सोचमा परे र भने, ‘लौ ! पुराना दिमागमा बुद्धि मात्र रहेछन्, अब नयाँ दिमागका विवेकले देशलाई सम्बृद्ध बनाओ, तर आलोकाँचो विवेक लाएर मात्र हुन्न नि ! राजनीतिमा अभ्यस्त दिमाग पनि चाहिन्छ ।’
- दमक (झापा)
प्रतिक्रिया