जापानको ‘सिआरए’का नेताद्वारा हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

जापानको ‘सिआरए’का नेताद्वारा हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा


  • विशेष प्रतिनिधि, जापान

जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ (CRA)का सह-नेताहरू योशिहिको नोडा र तेत्सुओ साइतोले आइतबारको तल्लो सदन निर्वाचनमा बेहोर्नुपरेको ‘ऐतिहासिक हार’को नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । निर्वाचनमा सत्तारुढ दलको भारी विजयपछि पत्रकारहरूसँग कुरा गर्दै नोडाले नयाँ नेतृत्व चयनको प्रक्रिया फेब्रुअरी १८ सम्ममा पूरा गरिने जानकारी दिए । सोही मितिमा बस्ने संसदीय सत्रले लिबरल डेमोक्रेटिक पार्टी (LDP) की नेता सानाए ताकाइचीलाई पुनः जापानको प्रधानमन्त्रीमा निर्वाचित गर्ने तयारी गरेको छ ।

निर्वाचनको नतिजा विपक्षी गठबन्धनका लागि अत्यन्तै निराशाजनक रहेको छ, जहाँ यसअघिको १६७ सिट संख्या घटेर केवल ४९ मा सीमित भएको छ । अर्कोतर्फ, प्रधानमन्त्री ताकाइचीको नेतृत्वमा रहेको गठबन्धनले ४६५ सदस्यीय सदनमा ३५१ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको छ । यस चुनावी पराजयको लहरमा विपक्षी दलका प्रभावशाली नेताहरू युकिओ इदानो, कात्सुया ओकाडा र जुन आजुमी समेतले आफ्नो सिट जोगाउन सकेनन् ।

पार्टीभित्र अब नयाँ र युवा नेतृत्वको माग उठ्न थालेको छ । आगामी नेतृत्वका लागि केन्टा इजुमी र जुन्या ओगावा बलिया उम्मेदवारका रूपमा देखिएका छन् । जनवरीमा मात्रै गठन भएको यो गठबन्धनले आफ्ना समर्थक र मतदाताहरूलाई एकजुट बनाउन नसक्दा हार बेहोर्नुपरेको राजनीतिक विश्लेषकहरूको ठहर छ । पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी शुक्रबार निर्वाचन गर्ने आन्तरिक तयारी भइरहेको बुझिएको छ ।