चुनावी उखानटुक्का !

चुनावी उखानटुक्का !


‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो मैले उनको हरेक कुरा मान्नैपर्ने के छ र ! पोहोर साल माइतीमा जुठो परेकोले यसपालिको उखान टुक्का दिवसमा त्यहीँ नै जानुपर्छ भन्ने उनको लिँडेढिपीलाई मैले ’एक कानले सुनेर अर्कोले उडाइदिने’ गर्दै थिएँ । मेरो यो व्यवहार उनलाई असैह्य भइसकेको थियो । ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ’ भन्दै एकसुरमा फत्फताउँदै थिइन् उनी । त्यही बेला ‘आलो घाउमा नुन छर्किन’ आइपुगे उही पुरानै छिमेकी ।

‘भाउजु यसपालीको उखानटुक्का दिवस त भव्यले मनाउन पर्छ है ! पोहोर साल त त्यसै गयो तर यसपालि त ‘एक पन्थ दुई काज’ जस्तो त्यो हुन लागेको पार्टी एकीकरण पिकनिकमा जानुपर्छ है । कलाकार, नेता लगायत ठुलाठालुसँग भेट हुने अनि पिकनिक पनि मनाउन पाइने ! यस्तो अवसर गुमाउन हुँदैन’, छिमेकीले आफ्नो राय दियो । अरुले सुनोस्–नसुनोस् उसलाई वास्ता थिएन । श्रीमतीको आँखामा रिसको ज्वाला देखिरहेको थिएँ मैले, त्यसैले म पनि प्रतिक्रियाविहीन रहेँ छिमेकीको कुरा सुनेर । हाम्रो मौनता उसलाई जँचेन शायद…, त्यसैले जान्छु पनि नभनी निस्किए । संधै जस्तो त्यो बेला पनि ‘कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले उडायो’ झैँ भयो ।

सन्तुष्ट पार्टी र असन्तुष्ट पार्टी एकीकरण हेतु आयोजना गर्न लागिएको पिकनिक कार्यक्रम सुन्नेबित्तिकै मलाई जाउँ–जाउँ भएर आयो । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’, जान्न म त्यस्तो पिकनिक सिकनिकमा’– पिकनिक जाने मेरो मनसाय थाहा पाएपछि उनको प्रतिक्रिया आयो । म सम्झाउन थालेँ– ‘पिकनिक त जानुपर्छ बुझ्यौ ! त्यहाँ सन्तुष्ट पार्टीको नेता हानबहादुर र असन्तुष्ट पार्टीको नेता थापबहादुर मिलेर नयाँ अण्टसण्ट पार्टी खोल्ने भएका छन् अरे । त्यो अण्टसण्ट पार्टी खोलेपछि हाम्रो मुलुकमा पनि अण्टसण्ट काम गर्न पाइन्छ अरे । हामी जनतालाई त ‘के खोज्छस् … आँखो’ सरह भइहाल्यो नि ! यस्तो अवसर पनि कहीँ गुमाउन हुन्छ ?’

निकै बेरपछि बोलिन् उनी– ‘कसैले तपाईं भनोस् कि नभनोस् आफै मपाईं’ जस्तो त्यहाँ पिकनिकमा गयो भने सबै आफै ठुला पल्टिन्छन् । हाम्रो वास्ता कसले गर्छ ? किन जानु त्यस्तो पार्टी एकीकरण हो कि के हो मा ? हाम्रो लागि ‘अर्थ न बर्थ गोविन्द गाइ’ । त्यसै पनि मलाई ‘गाइ मारेर गधा पोस्ने’ ती नेताका झोलेहरू देख्यो भने नउठेको रिस पनि उठ्न थाल्छ । रमाइलो गर्न खोजेको बल्ल–बल्ल आएको उखानटुक्का दिवसको बिदामा, हजुरको यो पिकनिक जाने ढिपीले सब बर्बाद गर्ने भयो ।’

उनि लामो सुस्केरा हालेर सुस्ताइन्, म सोच्न थालेँ । मनमा उर्लेका विचारहरूले एकअर्कासँग झगडा गर्न खोजे झैँ महसूस भइरहेको थियो । पिकनिक गएर नेताद्वय हानबहादुर र थापबहादुरसँग भेट्ने मेरो अभिलाषा श्रीमतीको कचकचले गर्दा ‘आकाशको फल आँखा तरि मर’ जस्तै हुने हो कि भन्ने चिन्ताले सताउन थाल्यो मलाई ।

उखानटुक्का दिवसकै दिन एकीकरण भएको अण्टसण्ट पार्टीको घोषणापत्र पढेपछि आएको लहरले युवा जमातमा बलियो पकड बनाइसकेको थियो । उता मेरी श्रीमती भने ‘जो जोगी आएपनि कानै चिरेका’ भन्दै चुनावमा नजाने निधो गर्दै थिइन् । मेरो मित्र सुरेश चुनावको दिन पनि सार्वजनिक विदा परेकोले अर्को बोतल पनि रित्याउने हो कि भनि सोद्धै थिए । उनि चुनावलाई ‘हात्तीको देखाउने दाँत’को संज्ञा दिन्थे । देखाउने एकथरि अनि लुकी–लुकी गर्ने अर्को थरि !

हुन त आजभोलि लुकाएर के पो नै गर्नु पर्छ र ! सबै खुल्लमखुल्ला नै छ । ‘खान्न–खान्न लोकाचार खानलागे मानाचार’ भन्ने खुल्ला तन्त्र हाबी भएकोले अण्टसण्ट पार्टीलाई पनि चुनावमा जितेर आ–आफ्नो भुँडी भर्ने योजना बनाउन पार्टी एकीकरण गर्नु परेको भन्ने कुरा चुनावी पर्यवेक्षक भन्ने गर्छन् । सबैको कुरा सुन्दै, मनन गर्दै बसिरहेको म उखानटुक्का दिवसको बिदा मनाउन नपाउँदाको झोंक कसमाथि पोख्नु सोच्दै थिएँ । त्यही बेला ‘नबोलाएको पाहुना’ उही ‘बेला न कुबेला’ झुल्किने छिमेकी आइपुगे । ‘चुनाव आउन धेरै दिन बाँकी छैन । भोटचाहिँ कसलाई हाल्ने हो ? मलाई त अण्टसण्टलाई नै हालुँ कि जस्तो लागिरहेको छ । तपाईंको के छ विचार ?’ – उनी आफ्नो विचारको साथ–साथ मेरो विचार पनि बुझ्ने कोशिश गर्न थाले । ‘कसैलाई केको धन्दा घर ज्वाइँलाई खानकै धन्दा’ भनेजस्तै आफूलाई यहाँ बिदा नासिएको झोंक चलिरहेको बेला तपाईंचाहिँ अण्टसण्ट पार्टीको चुनावी नारा गाउँदै सुनाउनुहुन्छ ।’ – मेरो रोष भरिएको स्वरले शायद उनको सातो गएछ । उठेर हिँडे । मलाई पनि अरु बेला जस्तै ‘कुचोले बढार्नु पर्ने फोहोर हावाले उडायो’ झैँ भयो ।

चुनावी सरगर्मीले गर्दा नगरको रुप फेरिएको थियो । नामअनुसार अण्टसण्ट पार्टीले अण्टसण्ट तरिकाले नै चुनावी प्रचारप्रसार गर्दै थियो । ‘अण्टसण्टलाई जिताए अण्टसण्ट गर्न पाइन्छ, हाम्रो देशमा अण्टसण्ट नै चाहिन्छ’ – यस्तो मुख्य नारा बोकेको पार्टी आफ्नो झोलेहरूलाई कुनाकाप्चातिर पनि अण्टसण्टले पर्चा फ्याँक्ने र नगर कुरुप बनाउने निर्देशन दिँदै थिए । नेताद्वय हानबहादुर र थापबहादुर जताततै अण्टसण्ट भाषण दिनमा तल्लिन थिए । नगरलाई सिंगापुर बनाउने लगायतका अण्टसण्ट कुराहरू खुलामन्चमा फलाक्दा बेला–बेला अण्टसण्ट अंग्रेजी शब्दहरूलाई प्रयोग गर्नु भाषण सुन्ने जमातलाई ‘आमसभा’ नभएर ‘जोकसभा’ बन्न पुग्थ्यो । भाषणकै दौरान हानबहादुर ‘पानीमा बसी गोहीसंग दुश्मनी’ गर्न नमिल्ने भन्दै ‘डरलाग्दो मान्छेको घिनलाग्दो कुरा’ दोहोऱ्याउन चुक्दैनथे ।

सबै कुराको लेखाजोखा गरेर बसिरहेको म भने उखानटुक्का दिवसको बिदा ब्यर्थ खेर गएको बिलौनामा नै अड्किएको थिएँ । उता श्रीमती माइत जान नपाएको पीडामा छटपटाइ रहेकी थिइन् । एउटा विदा खेर गए पनि चुनावको दिन विदा हुने भएकोले एक दिन अगाडि नै माइत जानुपर्ने सुझाव थियो उनको । ‘भोट हाल्नु जानुपर्छ कता ससुराली जानु चुनावको दिन पनि’, मेरो भनाइमा उनि ‘गाइ मारेर गधा पोस्ने’, भन्दै मलाइ नै गाली गर्थिन् अक्सर ।

ससुराली जाने कि, मित्रको घरमा बोतल रित्याउन जाने कि वा चुनावमा भोट हाल्न जाने भन्ने विकल्पहरूमा अल्मलिँदाअल्मलिँदै चुनावको दिन पनि आइसकेछ ।

चुनावको दिन…

‘तिम्रो माइतीगाउँमा त हानबहादुरले बुथ कब्जा गरेछन नि !’, सामाजिक संजालमा भेटिएको खबर पढेर म श्रीमतीलाई सुनाउंँदै थिएँ । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ बुथ कब्जा गरोस् कि गाउँ नै कब्जा गरोस् मलाई के मतलब । यी ‘तीन न तेह्र’का टट्टुहरूको रगरगीमा मैले टाउको दुखाउनुको के अर्थ ! चुनाव होस् या सुनाव होस् आफू त घरमा नै बसी धाराबाहिक हेरेरै समय बिताउने हो’, घृणामिस्रित उत्तर आयो उनको ।

‘तिमीहरू जस्तो पढेलेखेको मान्छेले चुनावमा भाग नलिँदा जित्नुपर्ने मान्छेले नजितेर अरुले जित्न पुग्छन्, अनि त्यसको सास्ती दुनियाले भोग्न पर्छ’, आफ्नो असन्तुष्टि पोखेँ मैले । ‘जो …. आए पनि कानै चिरेका’ भन्दै आफ्नो कथन दोहोऱ्याइन् उनले ।

त्यही बेला सुरेशले फोन गऱ्यो, ‘बोतल खोलियो मित्र.. आउने हैन ? चुनावको बिदाको सदुपयोग त गर्नु पऱ्यो नि ।’ जवाफमा मैले भोट हाल्न जान लागेको जिकिर गरेँ र उसलाई पनि जान भनेँ । उ बोल्यो– ‘हाम्रो देश कहिले विकास हुने साथी, जमाना कहाँ पुगी सक्यो । संसारमा अनलाइन नै भोट हाल्न मिल्ने भइसक्यो हामीचाहिँ लाइन लाग्दै भोट हाल्न जानुपर्ने । मजाले घरमा बिदा मनाउने हो म त, को जान्छ ती टट्टुहरूलाई भोट हाली–हाली जिताउन ।’ ‘तिमीले भोट हाले पनि नहाले पनि जित–हार त भइ हाल्छ नि’ भन्न मन लागेको थियो तर उसको नशामा बहकिएको आवाज सुनेर ब्यर्थ बहस गर्न ठिक लागेन ।

उ जस्ता अरु कति होलान् चुनावको दिनलाई फगत एक बिदाको रुपमा मनाउने । अनि अरु कति होलान् टेलिभिजनको सिरियलमा नै समय खर्च गर्ने । गलत मान्छेलाई सत्तासीन बनाउन यिनीहरूको योगदान छैन त ? एकैछिन घोत्लिन पुगेँ म, ‘चुनाव जस्तो अति संवेदनशील विषयमा मानिसहरूको कस्तो धारणा !’ देश, समाज बन्ने र बनाउने यो सुनौलो अवसरमा आफ्नै साथीहरूको व्यवस्थाप्रतिको अविश्वास र घृणा देखेर भविष्य सोच्दै दुःखी भएँ म ।

अण्टसण्ट घटनाहरू सहँदै चुनाव सकिएको खबर अण्टसण्ट समाचारबीच रेडियो तथा टेलिभिजनबाट प्रसारित भइरहेको थियो ।

मतगणना अनि नतिजा…

‘ढिकीले स्वर्गमा पनि धानै कुट्छ’ भनेझैँ जसले जिते पनि गर्ने भ्रष्टाचार नै हो । यी टट्टुहरूको के कुरा गर्ने ! यसले जिते पनि उसले जिते पनि मेरो भान्छामा मैले नै पकाउनु पर्छ’– श्रीमतीको रोषपूर्ण भनाइलाइ मैले सुनिरहने बाहेक अरु विकल्प थिएन । विषय मोडेर बोलेँ– ‘चुनाव सकिएको पनि दुई दिन भइसक्यो । अबसम्म त नतिजा आइसक्नु पर्ने । अरु देशमा भोलिपल्टै नतिजा थाहा हुन्छ । हाम्रो ठाउंमा चाही संधै कछुवा ताल ।’ उनको प्रतिक्रिया आयो– ‘यसरी कछुवा ताल गरेन भने धाँधली कसरी गर्ने नि ?’ मैले पनि सही थाप्दै बोलँ– ‘पाप एकदिन धुरीबाट कराउँछ के बुढी, यिनीहरूको छाडातन्त्रको अन्त्य अवश्य नै आउँछ । धैर्य गर्नुपर्छ हामीले ।’

अर्ति दिन त सजिलो, तर यसले यति भोट ल्यायो उसले यति भोट ल्यायो भन्ने बाहेक अन्तिम नतिजा नआउँदा धैर्यको बाँध फुट्ने बेला भइसकेको थियो । ढिलो मतगणना मेरी श्रीमतीले भनेझैँ के अनियमितताकै कारण हो त ? आफैलाई प्रश्न गर्न पुग्थेँ म बारम्बार ।

मनभित्र उर्लेका प्रश्नहरूमा वादविवाद गर्दै थिएँ, सामाजिक संजालमा अर्को चाखलाग्दो समाचार भेटियो– ‘एकीकरण र गठबन्धनपश्चात पनि थुप्रै ठाउँमा अण्टसण्ट पार्टीको हार !’ अचम्म लाग्यो मलाई । बुथ नै कब्जा गर्दै जितको लागि ‘साम दाम दण्ड भेद’ सबै अपनाएको अण्टसण्ट पार्टीको हार कसरी भयो ?!