फिरन्ते ब्यापारी !

फिरन्ते ब्यापारी !


पञ्चायतकालमा झापा धुलाबारी क्षेत्रमा शशि खतिवडा नामका ब्यापारी थिए ! ‘नेपालको हङकङ’ नामले ख्याति कमाएको त्यस बजारका अधिकांश ग्राहक इण्डियन हुन्थे अनि खरिद सामान इण्डियन पुलिसको मिलेमतोमा इण्डियन ग्राहकको घरैसम्म पुऱ्याउने जिम्मेवारी उनकै हुन्थ्यो ! त्यसैगरी इण्डियामा खरिद गरी नेपाल भित्र्याउनु परेपनि उनलाई जिम्मा दिएपछि नेपालको कोठामै आइपुग्थ्यो ! यो ‘वारपार धन्धा’लाई पञ्चायतकालमा ‘तस्करी’ भनिन्थ्यो तर अहिलेको गणतन्त्रकालमा त्यसो भन्न पाइन्न निकासी-पैठारी ब्यापार भन्नुपर्छ ! भनेमा अहिलेका रक्तचन्दन र सुपारी ब्यापारीले मानहानीको मुद्धा हाल्न सक्छन् ! ज्ञान चाइनातिर मणि पाकिस्तानतिर र भूर्तेल अफगानिस्तानतिर गर्दिन पनि सक्छन् ! दाँत आकाशतिर जिब्रो पातालतिर पनि गर्दिन सक्छन् ! गर्धन सुपारीको बोरामा हालेर तमिलनाडु पुऱ्याउन सक्छन् !

खतिवडा आफ्नो कमाईको केही हिस्सा दान-दातब्यमा समेत खर्चिन्थे ! काकडभिट्टा बोर्डरका हजारौँ गाउँले बटुलेर पिकनिक लैजान्थे ! त्यस क्षेत्रका निम्नवर्गका लागि औषधि-उपचादेखि हरेक कुरामा आर्थिक सहयोगमा पछि नपर्ने उनी त्यस क्षेत्रमा भगवान् सरह मानिन्थे ! चिया-गफमा उनी आफ्नो योजना सुनाउँथे- ‘अन्तो ! पैसा कमाइयो कि, आबो इज्जत कमाउनुपर्छ !’ इज्जत कमाउने खातिर उनी काकडभिट्टा गाउँ पञ्चायतको प्रधानपञ्चको चुनाव लडे र अत्यधिक मतले प्रधानपञ्च चुनिए !

अब उनलाई रा.पं.स. हुने धुन चल्यो ! यहीँबाट उनको पतन सुरु भयो ! उनको राजनैतिक रवैया अर्को खेमाको पञ्चायती ब्यापारी समुहमा हलचल ल्याउन पर्याप्त थियोे ! रा.पं.स. चुनाव लडेका भए उनलाई रोक्न सक्ने सामर्थ्य कुनै पञ्चमा थिएन ! फलतः उनी मेचीपुलमा मारिए ! ब्यापार छोडेर राजनीतिको चस्काले नउचालेको भए सम्भवतः त्यो दुर्भाग्य निम्तिने थिएन !

आफ्नो चल्तीको ब्यवसाय छोडेर अर्को पेशामा हात हाल्दाको परिणाम सम्झिँदै गर्दा काभ्रेतिरका (सायद काभ्रे नै होला) भोजबहादुर कार्की नामका सेफ्टीट्याङ्की ब्यापारीको सम्झना भो ! मेसिनबाट सेफ्टिट्याङ्की सफाइको अगुवा उनी नै होलान् नेपालका लागि ! ट्याङ्की सफाइबाट प्रशस्त पैसा कमाएपछि उनलाई पत्रकार हुने भुत सवार भो ! आफू प्रकाशक भएर ‘लोकपत्र’ नामको पत्रिका चलाउने भए, जसलाई ‘भोजपत्र’ भनेर गिज्याइन्थ्यो त्यस समय ! उनको फुर्ति यस्तो थियो कि पिएको विज्ञापन गर्दा समेत बिए पासको उर्दी लाउँथे ! नेपालका नामुद पत्रकारसमेतलाई आकर्षक पारिश्रमिक दिएर सम्पादक बनाउन सफल भएका थिए उनी ! पत्रकारिताभित्र बनिया प्रवेशको श्रेय उनैलाई जानुपर्छ ! ट्याङ्की ब्यापारीले कताबाट पत्रकारिता गरोस् ! लोकपत्रले भोजपत्र हुँदै विरगति प्राप्त गऱ्यो !

अहिले नेपाली राजनीतिमा धेरै शशी खतिवडा/भोजबहादुरहरू देखिँदैछन ! पहिलो लहरमा देखिएका घण्टी लामिछाने पत्रकारितामा सफल देखिँदै गर्दा राजनैतिक भुतले उचालेर देशभरी घुमायो ! पत्रकारितामा चिच्याउँदै गरेका उनलाई अहिले राजनीतिले घिच्याउँदैछ ! पूर्वतिरका अटोचालक अटो ब्यवसायमा ठिकठाकै चलेका थिए ! राजनीतिको चस्काले अहिले गितार रेटेर बिरह गाउने अवस्थामा पुगेका छन् ! माटो उचालेर गफ दिने उनी चुनाव हारेको खण्डमा नागरिकता त्यागेर शरणार्थी बन्ने योजनाको घुर्की ओकल्दैछन् ! कुनै समयका इन्जिनियर ऱ्यापर युवापुस्ताको भोटबाट मेयर बनेपछि पार्टी नै खोल्ने ब्यापारमा आकर्षित भएका छन् ! सहकारी ठगीको कलंकबाट ओरालो लागेको पार्टीमा छिरेर कोरामिनको भूमिका निभाउँदैछन् ! चुनावपछि घण्टी लामिछानेले उनलाई खैनी सेवन गराउने प्रवल सम्भावनालाई नकार्न सकिन्न ! उनको लक्ष्य भनेको ओलीलाई चुनावमा हराउनु मात्रै रहेको देखिन्छ !

मकै पोलेर गुजारा चलाउनेको ठेला खोस्ने पराक्रमी पुलिससमेत जागीर छोडेर घण्टी मेलामा घुम्दैछन् ! चाइनिज खादा प्रयोग नगरौँ, ढाका प्रयोग गरौँ भन्दै जङ्गिने अहिले आफैं तिनै खादा भिरेर १०० वटा घरमा जाँदा ९७ घर परिवारले मलाई चाहँदैछन भन्दै धमलाको जोडी बन्दैछन् ! चाडपर्व होस् या बाढी/पहिरोको प्रकोप होस् – मौका पाउनासाथ भाडा बढाएर ‘हवाई सेवा’ गर्दै रहेका भोजपुरे हवाई माफियालाई समेत ब्यवसाय परिवर्तनको चस्काले भेटेर पार्टी नै खोल्न पुगेकाछन् ! विद्युत प्राधिकरणमा राम्रो प्रस्तुति दिएकाले जेन्जी रोजाइमा परेर चुनावीमन्त्री भएका ब्यक्ति कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्दै पार्टी खोलेर अर्को पार्टीको घण्टी बजाउन तयार.., घण्टी नबजेपछि अहिले घरको न घाटको देखिँदैछन !

छँदाखाँदाको ब्यवसाय फेरेर राजनीतिमा होमिएका अर्को जोकरमा खत्री थरका एक पत्रकार थपिएका छन् ! कुनै समय आफैंले सहकारी ठग भन्दै सत्तोसराप गर्दै भातको जोहो गर्ने उनी अहिले उनैलाई नेता मान्न पुगेकाछन् ! उनको लक्ष्य गगनसँग चुनाव लडेर उनलाई हराउनु हो रे ! अहिले भक्तपुर पुगेर घण्टी बजाउँदैछन ! जेन्जी रोजाइमा परेर चुनावीमन्त्री बनेका खरेल थरका अर्का ‘जोकर’ पत्रकार चुनाव गराउने जिम्मेवारीबाट भागेर कुम्लो बोकी ललितपुर पुगेर काङ्ग्रेसलाई प्रतिपक्षमा बस्ने अर्ति ओकल्दैछन् ! चुनावी जिम्मेवारी पूरा गर्न नसक्नेले मुलुकको जिम्मेवारी कसरी निभाउने हुन् – उनै जानुन् !!

जनता जान्न चाहन्छन् नामको अर्को राष्ट्रिय जोकर रौतहट पुगेपछि रौतहटको दुःखमा अर्को दुःख थपिएको देखिँदैछ ! उनकी कलाकार-पत्नीले रौतहटमा पानी बिजुली फ्री भन्दै छोरीको बिहेमा नगदसमेत हाल्दिसकेकी छन् !! धमला रौतहट नै बस्ने सुनेपछि रौतहटवासीलाई समवेदना दिनुसिवाय केही गर्न सक्ने अवस्था छैन ! अर्की नौटङ्की कलाकारले चुनाव जितेमा बालेन र रविलाई स्याङ्जाको यात्रा गराउने बाचा गरेर नौटङ्की भनेका नौटङ्की नै हुन् भन्ने सावित गर्दैछिन् ! उनको बाचा पूरा भएमा स्याङ्जावासी बैतर्नी तर्ने पक्का !

यस्तै भिडमा केही पूर्व पुलिस पनि देखिएका छन् ! एकातिर पेन्सन चपाउँदै अर्कोतिर ‘अमुक ब्यक्ति म पदमा हुँदा यति रकम घुस दिन्छु भन्दै आएको थियोे, मैले स्विकार गरिनँ’ भन्ने चुट्किला ओकल्दैछन् ! त्यसबेला समातेर किन नकोचरेको त ? भन्ने प्रश्न आउँदा के जवाफ दिने भन्ने ती नकच्चरामा भेउ समेत देखिँदैन ! अर्को खेत जोत्दै गरेको किसान हलो छोडेर रोनाल्डोलाई लामटाङ्गको पानी पिलाउन पुगेको छ !

यी र यस्तै नव शशी खतिवडा र भोजबहादुरलाई राम राम… भन्न सकिएला काँध हाल्न किमार्थ सकिएन ! यी जोकरका हुलमा मिसिएका महावीर नामका फकिर चैँ चुनाव जितेपनि हारेपनि फरक नपर्ने प्राणीभित्र पर्छन् !

खैर ! जे-जस्तो भएपनि यसपटकको चुनावी मेला समग्रमा रमाइलो छ ! मनोरञ्जक छ ! फिरन्ते ब्यापारीको स्वस्थ र दीर्घजीवनको कामना ! तर यी फिरेन्तेको जीवन न स्वस्थ हुन्छ न त दीर्घ नै ! मेरो एक्लो कामना ब्यर्थ जाने सम्भावना निश्चित छ !
जय होस ! राधे राधे !!