ड्रोन विवादमा दक्षिणलाई उत्तर कोरियाको कडा चेतावनी

ड्रोन विवादमा दक्षिणलाई उत्तर कोरियाको कडा चेतावनी


कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच उत्तर कोरियाले दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाको पछिल्लो ‘खेद’ अभिव्यक्तिलाई विवेकपूर्ण कदम माने पनि भविष्यमा यस्ता गतिविधि नरोके परिणाम गम्भीर हुने सङ्केत गरेकी छन् ।

दक्षिण कोरियाली एकीकरण मन्त्री चुङ डोङ-युङले मङ्गलबार कथित नागरिक ड्रोन उडानप्रति ‘गहिरो खेद’ व्यक्त गर्दै सियोल सरकारले युद्धद्वारा विभाजित दुई राष्ट्रबीच ‘आपसी मान्यता र शान्तिपूर्ण सहअस्तित्व’ चाहेको बताएका थिए । उनको उक्त अभिव्यक्तिपछि किम यो जोङको प्रतिक्रिया सार्वजनिक भएको हो ।

उत्तर कोरियाले गत महिना दक्षिण कोरियामाथि सेप्टेम्बर र जनवरीमा आफ्नो भू–भागमाथि निगरानी ड्रोन उडाएको आरोप लगाउँदै प्रतिशोधको चेतावनी दिएको थियो । तर दक्षिण कोरियाली सरकारले निर्दिष्ट मितिमा कुनै आधिकारिक ड्रोन सञ्चालन नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेको छ । यद्यपि, सीमावर्ती क्षेत्रबाट ड्रोन उडाएको आशङ्कामा तीन जना सर्वसाधारणमाथि अनुसन्धान भइरहेको कानून कार्यान्वयन अधिकारीहरूले बताएका छन् ।

किम यो जोङले चुङको अभिव्यक्तिले ‘विवेकपूर्ण व्यवहार’ देखाए पनि सरकारी स्तरको औपचारिक र पर्याप्त कदम नभएको टिप्पणी गरेकी छन् । उनले सियोलले यस्ता गतिविधि रोक्न कडा र ठोस उपाय अवलम्बन गर्नुपर्ने धारणा राखेकी छन् । ‘उत्तर कोरियाको अपरिहार्य सार्वभौमिकता उल्लङ्घन गर्ने उक्साहट दोहोरिए त्यसले भयानक प्रतिक्रिया निम्त्याउनेछ’, उनको चेतावनी छ । विभिन्न प्रतिआक्रमण योजना तयार अवस्थामा रहेको र आवश्यक परे तीमध्ये कुनै एक लागू गरिने उनले स्पष्ट गरेकी छन् ।

अन्तर-कोरियाली मामिला हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कथित ड्रोन उडान तनाव न्यूनीकरणको नीतिसँग मेल नखाने बताउँदै यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चालिने जनाएको छ ।

विश्लेषकहरूका अनुसार फेब्रुअरीको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको सम्मेलन हुनुअघि उत्तर कोरियाले दक्षिण कोरिया विरोधी भावना चर्काउने प्रयास गरेको हुनसक्छ । सो सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा ‘दुई–राज्य’ प्रणालीलाई संवैधानिक रूपमा थप्ने प्रस्ताव अघि सार्न सक्ने अनुमान गरिएको छ ।

सन् २०१९ यता दुई कोरियाबीच कुनै सार्वजनिक वार्ता भएको छैन । पछिल्ला वर्षहरूमा आणविक कार्यक्रमलाई लिएर गहिरिँदै गएको गतिरोध र ड्रोन जस्ता घटनाले वैमनस्य झनै बढाएको छ । यस घटनाक्रमले लामो समयदेखि अवरुद्ध संवाद पुनः सुरु गर्ने प्रयासमा थप जटिलता ल्याउने आँकलन गरिएको छ ।

photo: AP