‘केपी ओली’ र ‘बालेन’बीचको फरक

‘केपी ओली’ र ‘बालेन’बीचको फरक


१. केपी ओली प्रधानमन्त्रीको रूपमा अपदस्थ भइसकेपछि हालसम्म साना-ठूला मिडियामा गरेर करिब १९ पटक अन्तर्वार्ता दिइसकेका छन् । मिडियाका सम्पादकहरूलाई बोलाएर देशमा देखिएको राजनीतिक संकटबारे सामूहिक छलफलसमेत गरिसकेका छन् । तर, बालेनले भने एउटा पनि मिडिया फेस गरेका छैनन् । यति ठूलो भौतिक र मानवीय क्षति हुँदा पनि यसबारे कतै आफ्नो धारणा व्यक्त गरेका छैनन् । यसरी मूल्यांकन गर्दा केपीभन्दा बालेनको स्वभाव निकै नै तानाशाही प्रवृत्तिको देखिन्छ ।

२. दुबै मिर्गौला फेरेर नियमित औषधि सेवन गरिरहेका ७३ वर्षको उमेरमा पनि केपी ओली जनतासँगको भेटघाटमा शान्तपूर्वक जवाफ दिइरहेका छन् । तर, उमेरको हिसाबले केपी ओलीभन्दा ३८ वर्षले कान्छा बालेन भने आत्तिने, हड्बडाउने, मान्छे धकेल्ने, गाडीलाई हान्ने, फूलमाला टाढैबाट हुत्त्याइदिने, क्यामेरामा झम्टिने, घण्टीको रालो चुँडिने गरी बजाइदिने जस्ता अस्वाभाविक हर्कत गरिरहेका छन् । मनोवैज्ञानिक रूपमा बालेनभन्दा केपी ओली बलियो देखिन्छन् ।

३. जेन–जी आन्दोलनको प्रमुख निशानामा परेका केपी ओली सार्वजनिक यात्रामा सामान्य तरिकाले हिँडिरहेका देखिन्छन् । उनका लागि सुरक्षाकर्मीहरू सामान्य रूपमा परिचालित छन् । तर बालेन अगाडि-पछाडि प्रहरीका गाडीहरूको लस्कर लगाएर हिँडिरहेका छन्, र उनको श्रीमतीसमेत सिभिल प्रहरीको सुरक्षामा छन् । शारीरिक हाउभाउ र भावभंगी हेर्दा केपी ओलीभन्दा बालेनले असुरक्षित महसुस गरिरहेका जस्ता देखिन्छन् ।

४. जनतासँग छलफल गर्दा बालेनमा टार्ने प्रवृत्ति, चिडचिडापन र राजाले जस्तो टाउको हल्लाएर हिँडिहाल्ने शैली देखिन्छ । बालेन एउटा स्थानमा ३ मिनेटभन्दा धेरै बसेको देखिँदैन । तर केपी ओलीले भने ढुक्कसँग आलोचना पनि सुनेका छन्, हरेक प्रश्नको उत्तर दिइरहेका छन् । तर, बालेन भने जनताका प्रश्नसँग शिकारी नजिक पर्दा भागेको मृग जस्तै भागिरहेका छन् ।

५. बालेन जसरी भएपनि प्रधानमन्त्री भएरै छाड्ने ‘वन डाइरेक्सन’ लक्ष्यमा हिँडिरहेका देखिन्छन् भने केपी ओलीले भूराजनीति, देशको सार्वभौम सत्ता, संविधानको भविष्य र म्यानिपुलेटेड युवाको जमातप्रति चिन्ता गरिरहेका देखिन्छन् ।

६. केपी ओलीले देश चलाउन जानेका छन्, बालेनले मोबाइल चलाउन जानेका छन् ।

(दिल निसानिको फेसबुकबाट)