बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी)ले स्पष्ट बहुमतसहित विजय हासिल गरेपछि जमातले ‘समग्र परिणाम’लाई मान्यता दिने जनाएको हो ।
सन् २०२४ को घातक विद्रोहपछिको पहिलो आमनिर्वाचन बिहीबार सम्पन्न भएको थियो । निर्वाचन आयोगद्वारा सार्वजनिक तथ्याङ्कअनुसार बिएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जितेको छ भने जमात नेतृत्वको गठबन्धनले ७७ सिटमा विजय हासिल गरेको छ । प्रारम्भिक चरणमा केही ‘विसङ्गति र मनगढन्त’ आरोप लगाउँदै आयोगसँग समाधान खोज्ने बताउनुभएका ६७ वर्षीय जमात प्रमुख शफिकुर रहमानले शनिबार भने औपचारिक रूपमा हार स्वीकार गरेका हुन् ।
‘कुनै पनि वास्तविक लोकतान्त्रिक यात्रामा नेतृत्वको साँचो परीक्षा हामीले अभियान कसरी सञ्चालन गर्छौं भन्ने मात्र होइन, जनताको निर्णयप्रति हामीले कसरी प्रतिक्रिया जनाउँछौँ भन्ने पनि हो, हामी समग्र परिणामलाई मान्यता दिन्छौँ र विधिको शासनलाई सम्मान गर्दछौँ’, विज्ञप्तिमार्फत उनले भनेका छन् ।
विद्रोहपछिको अन्तरिम व्यवस्थामा ‘प्रमुख सल्लाहकार’का रूपमा नेतृत्व गर्नुभएका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले बिएनपी नेता तारिक रहमानलाई ‘उनको पार्टीको शानदार विजय’का लागि बधाई दिएका छन् । सत्ता हस्तान्तरणको तयारी भइरहेको सन्दर्भमा उनले तारिक रहमानबाट देशलाई स्थिरता, समावेशीकरण र विकासतर्फ मार्गदर्शन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
जमात प्रमुख रहमानले आफ्नो पार्टी संसद्मा सक्रिय रूपमा सहभागी हुने बताउँदै सशक्त तर शान्तिपूर्ण विपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी सरकारलाई जवाफदेही बनाउँदै सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षका रूपमा काम गर्नेछौँ, सैद्धान्तिक र शान्तिपूर्ण राजनीतिप्रतिको हाम्रो प्रतिबद्धता अडिग छ’, उनले भनेका छन् ।
उनले विगतका निर्वाचनको तुलनामा यसपटक इस्लामवादी दलहरूले जितेका सिटमा उल्लेखनीय वृद्धि भएको पनि औँल्याउनुभएको छ । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालमा दमन झेलेको उल्लेख गर्दै उनले आफ्नो आन्दोलन एकल चुनावमा सीमित नभएको बताए । ‘हाम्रो आन्दोलन लोकतान्त्रिक संस्कृतिलाई सुदृढ पार्ने, नागरिक अधिकारको रक्षा गर्ने र न्यायपूर्ण तथा जवाफदेही राज्य निर्माण गर्ने उद्देश्यमा केन्द्रित छ’, उनले भने ।
सतहत्तर सिटसहित संसदीय उपस्थिति करिब चार गुणा बढेको दाबी गर्दै रहमानले जमात आधुनिक बङ्गलादेशी राजनीतिमा बलियो विपक्षी शक्तिका रूपमा स्थापित भएको बताएका छन् । ‘यो अवरोध होइन, यो नयाँ आधार हो’, उनको निष्कर्ष छ ।
प्रतिक्रिया