आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार (४ फगुन) साँझ सम्पन्न गरिएको जानकारी दिँदै आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने बताए ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार प्रत्यक्ष निर्वाचनतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरिएको हो । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भएको र अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुऱ्याइने उनको भनाइ छ ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुऱ्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।
कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुऱ्याउने गरी काम भइरहेको जानकारी प्रबन्ध निर्देशक पौडेलले दिएका छन् ।
प्रतिक्रिया