कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आयोगको अनुरोध

कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग आयोगको अनुरोध


कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । दशौँ निर्वाचन दिवसका अवसरमा आज (७ फागुन) निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताए ।

निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गरे । ‘राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ’, उनले भनेका छन् ।

कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उनले मतदातालाई पनि आह्वान गरे । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराए ।

निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उनले ध्यानाकर्षण गराए । पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गनुपर्नेमा आयोगले सचेत गराएको छ ।

धेरै भन्दा धेरै मत खसाल्न लगाउने र खसेका मत सबै सदर गराउने गरी काम गर्न उनले मतदाता शिक्षामा संलग्न स्वयंसेवक, निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा अनुरोध गरे । निर्वाचनमा सानो गल्तीले पनि ठूलो समस्या आउन सक्ने भएकाले उच्च मनोबलका साथ सचेत भएर काम गर्नुपर्नेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जोड दिए ।

सो अवसरमा आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी गराए। निर्वाचन शिक्षासम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालका पृष्ठबाट राखिरहेको पनि उनले उल्लेख गगरे ।

अहिले देशभरका ६ हजार ७४३ वटै वडामा मतदातालाई शिक्षा दिने काम भइरहेको सचिव राउतले जानकारी दिए । निर्वाचनलाई पारदर्शी बनाउन यसपटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरी राजनीतिक दल र उम्मेदवारले पनि निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरेको जानकारी उनले दिए ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको जानकारी दिए । पहिलोपटक नागरिकले मत हालेर सार्वभौम भएको दिनको स्मरणमा आयोगले प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउन थालेको उनको भनाइ थियो ।

photo: rss