‘नेपालीले नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिका कारण देश इतिहासकै दर्दनाक स्थितिमा’ : राजा ज्ञानेन्द्र

‘नेपालीले नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिका कारण देश इतिहासकै दर्दनाक स्थितिमा’ : राजा ज्ञानेन्द्र


राजा ज्ञानेन्द्र शाहले मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको र देशको अस्मिता अनि अस्तित्व नै सङ्कटमा परेको महसूस हरेक देशभक्त नेपालीले गरिरहेका बताउनुभएको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार (६ फागुन) जारी गरेको भिडियो सन्देशमा उहाँले विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, सङ्घर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको उल्लेख गर्नुभएको छ ।

राजाले आफ्नो सन्देशमा भन्नुभएको छ- ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ । त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौँ ।’

यस्तो छ, राजको सन्देशको पूर्ण पाठ-

नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्रको मिर्मिरे घाम उदाएको सुखद दिवसको सम्झना गर्दै हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ । प्रजातन्त्र स्थापनाको निम्ति उदारता दर्साइबक्सिने हाम्रा जिजुबुवाजु राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौँ । प्रजातन्त्रका निम्ति जीवनदान दिने ज्ञात–अज्ञात सहिदहरू र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरूप्रति पनि हामी श्रद्धाभाव व्यक्त गर्दछौँ।

केही महिनाको झापा बसाइपश्चात् राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभारसहित धन्यवाद अर्पण गर्दछौँ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्साएको यस्तो प्रेम र सद्भावले हाम्रो मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ ।

सिङ्गो मुलुक यतिबेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसूस हरेक देशभक्त नेपालीले गरिरहेका छन् । विगतमा अनेकौँ नाममा आन्दोलन र सङ्घर्ष भए, सङ्घर्षको आडमा परिवर्तन पनि गरिए; तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।

हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ । त्यसैले कठिन परिस्थितिमा परेको आजको मुलुकमा परस्पर घृणा र द्वन्द्वको राजनीतिमा पूर्ण विराम लगाउँदै सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबोधन गरौँ ।

प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हो । प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ । निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।

वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा ‘आलोपालो भाग लगाएर खाऊँ’ भन्ने सोचले होइन, ‘मिलेर काम गरौँ’ भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ । प्रजातन्त्रमा जनता आफैँ जागरूक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनुपर्ने हो, तर कसैलाई खुसी पार्नुपर्ने अनि कसैबाट तोकिनुपर्ने बाध्यात्मक व्यवस्थाको जञ्जिरमा बाँधिनुपरेको छ ।

देशको भू-बनोट तथा समाजको प्रकृति सुहाउँदो व्यवस्था र प्रणालीले मात्र दिगो र सकारात्मक परिणाम दिन सक्छ । आम जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउँछ । कुनै पनि व्यवस्थाका राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुन व्यवस्थाका नराम्रा र खराब पक्षहरू हुन्छन्, तिनलाई फाल्नु र फ्याँक्नुपर्छ ।

त्यसैले विश्वका कैयौँ राष्ट्रहरू पहिले आफ्नो देश, पहिला आफ्ना जनता र पहिला आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बसाइरहेका छन् । हो, हामीले पनि हाम्रो धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्दछ । नेपालको एकीकरण, प्रजातान्त्रिकीकरण र आधुनिकीकरणसँगै जनताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राखेर समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आम जनताको दैनिक कामकाज सहज र सरल बनाउँदै जानुपर्ने आजको पहिलो आवश्यकता हो ।

प्रजातन्त्रमा सबै थरी विचार, सबै थरी संस्कारको आधार हुनुपर्दछ । सबैले सबैलाई कदर गर्ने समन्वयकारी गुणबाट नै सामाजिक मूल्यको प्रजातन्त्र दिगो र दरिलो हुन्छ । अरूको भरमा परेर हामी अक्करमा नपरौँ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।