‘एटीएम’विरुद्ध चलचित्रकर्मीहरू

‘एटीएम’विरुद्ध चलचित्रकर्मीहरू


चलचित्र र कलाकार दुवै बहिष्कृत
छाडा चलचित्रले समाज बिगार्छ, विकृति मौलाउँछ भन्ने सोचका साथ ‘एटीएम’ नामक चलचित्रको हामीले लगातार आलोचना गर्दै आएका छौँ । घटना र विचारमा प्रकाशित सामग्र्रीको उक्त विवादास्पद चलचित्रका निर्माता तथा कलाकार दिनेश थापा सार्वजनिक स्थलमा धुवाँधार विरोध गर्दै भनेछन्, ‘त्यो पत्रिकालाई कसले अधिकार दियो मेरो सिनेमालाई ‘सी ग्रेड’को भन्ने ? के त्यो पत्रिका नै चलचित्र विकास बोर्ड हो र सिनेमाको वर्गीकरण गर्ने ?’ यसरी धेरैतिर कुर्लिएछन् उनी । तर, आज अन्तत: हामीले उठाएको विषयमा आमनेपाली चलचित्रकर्मी एवम् मिडियाले सहमति दर्शाएका छन् । एटीएमको विकृत सिर्जनाविरुद्ध सबै एकजुट भएका छन् । घटना र विचारले त एटीएमलाई सी ग्रेडको चलचित्रसँग तुलना मात्र गरेको थियो, यस्तो चलचित्रले मनोरञ्जन र समाजमा सकारात्मक योगदान पुर्‍याउन सक्दैन बरु विकृति फैलाउने काम गर्छ मात्र भनेको थियो । तर, चलचित्र विकास बोर्ड एवम् चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थाहरूले त सी–ग्रेडभन्दा पनि निकै तल राखेर हेर्न थालेपछि हामीविरुद्ध विष वमन गर्ने थापाको अवस्था यतिबेला पानीमा रुझेको मुसोजस्तै भएको अनुभूति गरिएको छ ।
सस्तो लोकप्रियता, अनावश्यक चर्चा र मोजमस्तीका लागि सिनेमा निर्माण क्षेत्रमा लागिटोपलेका र थोरै लगानीमा सिनेमा बनाएर दाम धेरै कमाउन सकिन्छ भन्ने सोच पालेका थापाको दिवास्वप्न यतिबेला चकनाचुर भएको छ । चौतर्फी रूपमा यो चलचित्रको निर्माण र प्रोमोलाई लिएर विरोध आउन थालेपछि लगानी गरेर ‘नायक’ बनेका दिनेश थापा सार्वजनिक समारोहमा प्रस्तुत हुन सकिरहेका छैनन् । फेसबुकदेखि लिएर अनलाइनसम्म यो सिनेमाविरुद्ध विभिन्न प्रतिक्रिया आउन थालेपछि आजभोलि दिनेश भन्न थालेका छन्– सबैले पेले मलाई । ठूलो गल्ती गरिएछ ।
यतिबेला यो चलचित्र प्रदर्शन गरिनुहुन्न र गर्न पनि नदिने आवाज चलचित्र निर्माताहरूबाटै उठेपछि चलचित्र विकास बोर्ड पनि यसबारे सोचमग्न हुन थालेको छ । यो हप्ता चलचित्र निर्माता सङ्घले त दिनेश थापासँग स्पष्टीकरण नै माग्यो । थापा सङ्घका सदस्य पनि हुन् । सङ्घले सिनेमा निर्माणको बहानामा समाज भड्काउने र अश्लीलता प्रदर्शन गर्ने सिनेमा निर्माण गर्ने कुनै पनि मेकरलाई साथ नदिने र उल्टो कारबाही नै गर्ने प्रतिबद्धता व्यक्त गरेपछि थापाको ओठ र तालु नै सुक्न पुगेको छ । सङ्घले अब ‘एटीएम’बाट भद्दा र समाजमा असर पर्ने दृश्यहरू हटाएर सिनेमा निर्माण नगरेमा यो चलचित्रलाई प्रदर्शनमा रोक लगाउनसमेत पछि नसर्ने कुरा बताइसकेको छ । यता चलचित्रकर्मीहरू पनि यो चलचित्र बनाउने दिनेश थापा अनि हेर्दा नै लाज लाग्ने, घिन लाग्ने र पचाउनै गाह्रो हुने दृश्यहरूमा गौरवका साथ अभिनय गर्ने तीन युवती जिया केसी, सविना कार्की र सोनिया शर्मालाई गलत रूपले हेर्न थालेका छन् । यस्तालाई अब कुनै पनि चलचित्रमा नलिने सोचमा पुगेका छन् उनीहरू । कुनै समय जियाको गडफादर मानिने निर्देशक दीपक श्रेष्ठले पनि प्रदर्शनका लागि तयार भएको चलचित्र ‘हो यही माया हो’को सम्पूर्ण प्रचार सामग्रीबाट जियाको तस्बिर हटाउने भएका छन् । ‘यस्ताको तस्बिर राखेर म चलचित्रलाई विकृत बनाउन चाहन्न । किन आउँछन् यस्ताहरू सिनेमामा,’ निर्देशक दीपक श्रेष्ठको भनाइ छ । यता ‘एटीएम’को प्रोमोलाई पनि दिनेश थापाबारे प्रश्न आउन थालेका छन् । चलचित्र निर्देशक ऋषि लामिछानेले फेसबुकमा लेखेका छन्, ‘मलाई मेरो छिमेकीले सोधे– त्यो दिनेश भन्नेको घरमा श्रीमती, आमा, दिदीबहिनी र छोराछोरी छैनन् ?’ म नाजवाफ भएँ । यसरी सिनेमा उद्योग नै गन्हाउने सिनेमा बनाएर कुन चर्चा, स्याबासी र वाहवाही कमाउन खोजेका हुन् दिनेशले । कुरा बुझिसक्नु छैन । उनले बुझ्नुपर्छ कि सिनेमा विशुद्ध व्यापारमात्र होइन, यसमा लागेकाहरूमा मुलुक र समाजप्रति केही जिम्मेवारी पनि हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसैले समाजको सभ्य नागरिक भएका कारण त व्यापारी र सर्जकहरूलाई हेर्ने सोच अनि दृष्टिकोण फरक हुन्छ । यदि पैसा नै कमाउने हो भने त रक्तचन्दन, गाँजा अनि अफिमको खेती गरे भइहाल्यो नि । किन बनाउनु चलचित्र ?
यता यो चलचित्रमा मिल्ने जिया र सविनाको हालत पनि यतिबेला नाजुक छ । कुनै सार्वजनिक कार्यक्रमतिर जान सकिरहेका छैनन् यिनीहरू । गलत सोच अनि उद्देश्य बोकेका सिनेमामा गलत तरिकाले नै प्रस्तुत भएका यिनीहरूलाई हेर्ने सोचमा नै परिवर्तन भएको छ आफन्तले । यिनीहरूको कुरा त हुन्छ तर नकारात्मक रूपमा । हेर्दा निकै शालीन र भद्र लाग्ने झापाकी जिया केसीले त ‘एटिएम’मा यस्तो दृश्य दिएकी छिन् कि यिनको परिवारले शायद यस्तो दृश्य हेर्न पनि सक्दैनन् होला । के बन्न काठमाडौं आएकी जिया के बनिन् ? भगवान् जाने । अर्की सविना तिनै उप्रेती हुन् जो जाडो मौसममा पनि अर्धनग्न भएर सिनेमाको मुहूर्तमा आउँछिन् र निर्देशकले सेक्सी हिरोइन भनेर सम्बोधन गर्दा दङ्ग पर्छिन् । उनलाई अरूले गिज्याएर हाँसेको मतलब छैन । धेरै सिनेमाको शुभसाइतमा निर्देशक शोभित बस्नेतले सविनालाई सेक्सी नायिका भनेर सार्वजनिक समारोहमा सम्बोधन गरेका थिए । तर, उनी भने निकै दङ्ग पर्थिन् ।
यसै सिनेमामा अर्की युवती पनि छिन् सोनिया शर्मा । यिनी कताबाट ‘एटीएम’ अर्थात् एनी टाइम मस्ती चलचित्रमा आइन् थाहा भएन । यिनले सिनेमामा दिएको दृश्य, अनुहारको हाउभाउ र प्रस्तुति हेर्दा नीलो चलचित्रभन्दा कम लाग्दैन । नायक दिनेश थापाले त कतिपटक यी तीनवटी युवतीलाई टङकिस गर्छन् कि उनले यति गर्न मात्र फिल्म बनाएका हुन् । अनि जियाको वक्षस्थल पनि समात्न पुग्छन् यिनी । चलचित्रकर्मीहरू यो चलचित्रको विरुद्ध लागेको थाहा पाएपछि सोनिया शर्माले चलचित्र निर्माता सङ्घका सचिव सुरेशदर्पण पोखरेललाई त दाइ कति विरोध गरेको । मेरो विरोध नगर्नुस् न । बरु यसो हेरेर सहमति गरौँ । कुरा गरौँ न भनेरसमेत भन्न भ्याएकी रहिछिन् । आफ्नो क्यारियरको यस्तो चिन्ता गर्नेले किन अश्लील चलचित्र खेलेको होला त ? ठाडो प्रश्न छ । यो नेपाल देश, यहाँ कानुन त्यति बलियो छैन अहिले । यसैको फाइदा पनि धेरैले उठाइसकेका छन् । यदि कानुनी राज्य चल्दो हो त समाजमा विकृत्ति फैलाएको र समाज भड्काएको आरोपमा एटीएमजस्ता सिनेमा बनाउने मेकर अनि यस्ता सिनेमामा काम गर्नेविरुद्ध सार्वजनिक मुद्दा लाग्न सक्छ । यो मुद्दा हाल्न पनि सकिन्छ तर अहिलेसम्म कसैले हालेको छैन । किनकि नेपाल सेक्स फ्रि देश होइन र यस्ता क्रियाकलाप गर्नेविरुद्ध सार्वजनिक मुद्दा हाल्न कसैले रोक्न सक्दैन । यदि यही घटना विदेशमा भएको भए करोडौं क्षतिपूर्ति व्यहोर्नुपर्दथ्यो मेकरले । बिनाअधिकार सामाजिक सञ्जाल युट्युब र फेसबुकमार्फत अश्लील दृश्यहरू प्रचारप्रसार गरेबापत सार्वजनिक मुद्दा लाग्दा यस्ता मेकर सडकमा आउन सक्छन् । यो कुराको चेतना भया ।