- आरपी उपाध्याय, नवलपरासी
आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि पश्चिम नवलपरासीमा राजनीतिक दलहरुले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले मतदाताहरुसंगको भेटघाटमा उखुकिसानका समस्या समाधानका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताए । लामो समयदेखि उखु किसानका समस्यालाई सरकारले अल्मल्याउँदै आएकोमा अब समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको र यसका लागि कुनै कसर नराख्ने प्रण उनले गरे ।
गत वर्ष पनि उखुको न्युनतम समर्थन मूल्य समयमै तोक्न आफुले सरकारलाई दबाब दिएको दाबी गर्दै चौधरीले किसानहरुको समस्या समाधानका लागि आफू गम्भीर रहेको जानकारी दिए ।
ग्रामिण भेगमा अधिकांश किसान उखुखेतीमा निर्भर भएकाले किसानमैत्री नीतिलाई समेत पालन गर्न आफू र नेपाली काङ्ग्रेस सदैव प्रतिबद्ध रहने उनले बताए ।
निर्वाचन अभियानअन्तर्गत सोमबार प्रतापपुर गाउँपालिकास्थित वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेका काङ्ग्रेस उम्मेदवार चौधरीलाई उखुकिसानले उखु किसानका दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी पहल गरिदिन अनुरोध गरेपछि उनले गम्भिरताका साथ किसानका गुनासो सुने र सोबारे दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
समयमा अनुदान रकम र उखुको भुक्तानी नपाउँदा कृषकले वर्षौंदेखि आर्थिक संकट झेल्दै आएकोमा निर्वाचन अभियानअन्तर्गत प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित ग्रामीण भेगको घरदैलो कार्यक्रममा पुगेका उम्मेदवार चौधरीलाई किसानहरूले आफ्ना गुनासो प्रत्यक्ष जानकारी गराएका थिए।
स्थानीय किसानहरूको भनाइअनुसार उखु क्रसिङ सिजन सुरु भइसके पनि सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने हुँदा जिल्ला अन्तर्गतका चिनीमिलहरुले वर्षौंदेखि भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण किसानहरू विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।
स्थानीय किसानका समस्या सुनेपछि उम्मेदवार चौधरीले विगतमा पनि उखु किसानका विषयमा पटक-पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बने कृषि क्षेत्रका लागि छुट्टै नीति निर्माण गरी किसानका सबै समस्या समाधान गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
पश्चिम नवलपरासीका अधिकांश नागरिक कृषि पेशामा आवद्ध रहेकाले भुक्तानी र मूल्य निर्धारणको समस्या समाधान नगरेसम्म कृषकको अवस्था सुधार नहुने स्थानीयहरूको भनाइ रहेको छ । उखु किसानको समस्या समाधान नभए उखु खेती विस्थापित भई केरा खेतीतर्फ आकर्षित भए पनि बजारीकरण र उचित मूल्य अभावका कारण सन्तुष्ट हुन नसकेको समेत उनीहरुले बताएका छन्।
घरदैलोका क्रममा उम्मेदवार चौधरीले गगन थापा नेतृत्वको सरकार बने राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने र किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास दिलाए ।
गत निर्वाचनमा आफू निर्वाचित भएपछि झन्डै ३० महिना मात्रै काम गर्न पाएको बताउँदै उनले अधुरो कामलाई पुर्णता दिन र ग्रामीण क्षेत्रका सडक बिस्तार, शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने बाचासहित आफू मतदाताको घरदैलोमा आएको समेत प्रष्ट पारे ।
स्थानीय किसानहरुले निर्वाचन क्षेत्रका समस्याहरुलाई राष्ट्रिय स्तरमा दरिलो रुपमा उभ्याउन सक्ने नेपाली काङ्ग्रेसका उम्मेदवार सक्षम भएकोले आफुहरु उम्मेदवारप्रति विश्वस्त रहेको पनि घरदैलो कार्यक्रममा जानकारी गराएका थिए ।
प्रतिक्रिया