गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा

गौरको सबगढामा सद्भाव भड्काउने बाइस जनाविरुद्ध मुद्दा


रौतहटको गौर नगरपालिका-६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो ।

पक्राउ पर्नेमा शुभनारायण साह, समिर मियाँ, शेख अलियास, शेख अरमान, रितेशकुमार राम, रितिक कुमार यादव, दीपेन्द्र चन्द्रवंशी, विनोदकुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् ।

गौर–६ का वडाध्यक्ष अवधविहारी साह र पूर्ववडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला संयोजक शेख जमशैदलाई आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका प्रवक्ता बस्यालले जानकारी दिए ।

जिम्मा जमानीमा छुटेका साह र जमशैदसहित तीन जना व्यक्तिको मोबाइल प्रहरी नियन्त्रणमा राखिएको र मोबाइल परीक्षणका लागि काठमाडौं पठाइने उनको भनाइ छ ।

सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजीकार्य जारी रहेको र प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । स्थानीय प्रशासनले शान्ति सुव्यवस्थाको लागि यस क्षेत्रमा गत शनिबारदेखि आज (११ फागुन) दिउँसो जसम्म कर्फ्यु लगाएको थियो । आज बिहान सबगढा गाउँमा सद्भाव ऱ्याली गरेपछि हाल गाउँको अवस्था सामान्य बनेको छ ।

file photo