झापा २ : तीव्र चुनावी प्रतिष्पर्धा रहेको निर्वाचन क्षेत्र

झापा २ : तीव्र चुनावी प्रतिष्पर्धा रहेको निर्वाचन क्षेत्र


  • द्रोण अधिकारी, झापा

फागुन २१ गते हुने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचनले झापालाई देशव्यापी चासो रहेको जिल्लाका रूपमा पहिचान दिलाए पनि झापा ५ बाहेक अन्य क्षेत्र छायाँमा परेको देखिन्छ । झापा ५ भन्दा तीव्र प्रतिष्पर्धा रहेको क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र नबानाइए पनि यही क्षेत्रका रैथाने पहिचान बनाएका निर्वतमान संघीय संसदका हस्तीबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

यस निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विघटित प्रतिनिधिसभामा एउटै निर्वाचन क्षेत्रका व्यक्ति सभामुख र उपसभामुख बनेपछि राष्ट्रिय राजनीतिमा यो क्षेत्र चर्चामा आएको थियो । यिनै दुई व्यक्ति यसपटक प्रतिष्पर्धी भएर निर्वाचनमा उत्रिएका छन् ।

यस निर्वाचनमा निवर्तमान सभामुख, उपसभामुख र दुई पूर्वमन्त्री उम्मेदवार रहेको झापा २ को चुनावी माहौल आफैमा रोचक देखिन्छ । प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनमा मतदातामाथि प्रतिनिधि छान्न एक पटक सोच्नै पर्ने अवस्था आएको छ ।

यो क्षेत्र विगतमा नेकपा एमालेको पक्कड रहेको क्षेत्रका रूपमा रहेको भए पनि यस पटकको परिवर्तनको लहरले एमालेमाथि धावा बोलेको अवस्था छ ।

२०७९ को निर्वाचनमा एमालेका नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २८ हजार ७१६ मत ल्याएर विजयी भएका थिए भने उनको निकट प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४५५ मत प्राप्त गरेर दोश्रो भएका थिए ।

एमालेको सङ्गठनात्मक शक्ति बलियो रहेको दाबी गरिएको यो क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस टक्करमा उत्रिएका छन् भने नेपाली कम्युनिस्ट पार्टी र राप्रपा पनि प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं निवर्तमान उपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा रहेकी छन् । सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेतृ एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा रहेकी छन् । यस निर्वाचनमा प्रतिष्पर्धामा रहेका प्रमुख दलका सवै उम्मेदवार यसै क्षेत्रका बासिन्दा समेत रहेका कारण प्रतिष्पर्धा रोचक र चर्चाको विषय बनेको छ ।

विर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

निर्वाचन आयोगको विवरण अनुसार अनुसार यस क्षेत्रमा उम्मेदवारका रूपमा अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा रानामगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशीला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा.युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिष्पर्धीमध्ये राष्ट्रिय राजनीतिका चर्चित अनुहारदेखि विलकुल नयाँ अनुहारसम्म एउटै क्षेत्रमा रहेका कारण मतदाताको विवेकले कसलाई रोज्ने हो – चासो र कौतुहलको विषय बनेको छ ।