पूर्व गृहमन्त्री लामिछानेले उडाए गृहकै निर्णयको धज्जी !

पूर्व गृहमन्त्री लामिछानेले उडाए गृहकै निर्णयको धज्जी !


गृह मन्त्रालयमा गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले उम्मेदवारहरूलाई ‘रुफ टप’ गाडी प्रयोग गर्न रोक लगाउने निर्णय गरेको सर्बविदित नै छ । खासगरी राजनीतिक दल, दलका शीर्ष नेतृत्व तह, उम्मेदवारहरु एवम् सरोकारवाला सबैलाई केन्द्रीय सुरक्षा समिति बैठकको उक्त निर्णयबारे हेक्का रहेकै हुनुपर्छ । तर, मुलुकको गृहमन्त्री समेत रहिसकेका रास्वपा सभापति रवि लमिछानेका लागि यो निर्णय मान्य भएन । अर्थात्, उनले गृह मन्त्रालयको यो निर्णय अवज्ञा गर्नुमा आफ्नो बडप्पन देखे !

सायद आफू पूर्व गृहमन्त्री भएको लामिछानेले बिर्सिए या गृह मन्त्रालयले गरेको निर्णयको धज्जी उडाउँदै उनले मंगलबार (१२ फागुन) झापाको दमकमा सानका साथ ‘रुफ टप’ गाडीको प्रयोग गरे, छतमा चढे र हात हल्लाए।

गृह मन्त्रालयले उम्मेदवारको असुरक्षाका कारण सो निर्णय लिएको थियो । र, ‘रुफ टप’ गाडी निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्न/नगराउन भनेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा जोखिम हुनसक्ने निष्कर्ष निकालिएको थियो ।

‘गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर ‘रुफ टप’ गाडी प्रयोग नगर्न भनेको हो, सरकारको निर्णय पालना भए नभएको अनुगमन हुन्छ’, गृह प्रवक्ता काफ्लेको भनाइ छ ।

उम्मेदवारले निर्वाचनको प्रचारप्रसारमा धमाधम ‘रुफ टप’ गाडीको प्रयोग गर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा खतरा औंल्याएको थियो।

लामिछानेकै दल रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले पनि यसअघि ‘रुफ टप’ गाडीको प्रयोग गर्दै आएका थिए । यस्तै देशका अन्य स्थानमा पनि रास्वपाका उम्मेदवारहरुले नै ‘रुफ टप’ गाडीलाई धेरैजसो निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्दै आइरहेका थिए । तर सरकारको निर्णयपछि भने ‘रुफ टप’ गाडीको प्रयोग घट्दै गएको पाइएको छ ।