अम्रिकाने बालकको देशप्रेम देखेर विवेकानन्द तीन छक परे । उनले भने, ‘म तिम्रो राष्ट्रप्रेममा गर्व गर्छु । मैले आफ्नु देशमा फर्केर कसैसित नि तिम्रो राष्ट्रको बारे शिकायत गर्दिनँ बरु त्यो मुलुकका बालबालिकाहरू राष्ट्रप्रेमी छन् भनेर प्रशंसा गर्नेछु ।’
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नम :। श्री सरस्वतै नमो नमः । जीवन पतरसे, जिन्दगी कोलाजमय, जिन्दगानी अपरिमेय – मरे काटे नि लिकमा नहिँड्ने । यो दुईदिने डेराको महत्ता मदोन्मत्तले के बुझोस् ? निरक्षरको निरक्षरी भाव । एक बहुलाहाले अर्कोलाई बहुलाहै देख्दो । वीरसिक्का खग्राष्ट पारे भैगो नि; लडन्त कि मरन्त किन गर्नुपऱ्या छ र ? आर्यको सहचार्यबाट अनार्य नि परिष्कृत हुँदा । जो च्युत उही अच्युत बन्दो । खण्ड-खण्डमा पाप गर्ने पाखण्डी । कृत्रिम राजनीतिकता अराजकताले ढुन्मुनिँदो । कस्तो जुग आको – कुकर्मीहरूको दिनदहाडै उपस्थिति । सिस्नुपानीले सिस्नुपानी लगाउँदा नि चेत खोई खुलेको ?! हाँसेरै डाइजेस्ट गर्दिन्छन् लबस्तराहरू । उर्वशीको नखरा, अर्जुनको उपेक्षा । धेरै खाले सेवाहरू छन् – केवल समाज सेवा भन्नु किमार्थ युक्तिसंगत होओइन ।
कोर्कालीलाई सभ्य तुल्याउँछु भन्नु र मूर्खलाई सोझ्याउँछु भन्नु एउटै कुरो । सोझो हुनुको परिणति, राजा हरिश्चन्द्रको नियति । सुखिया ससुराली, दुखिया मावली । आयाराम गयाराम, गयाराम आयाराम । दुई नम्बरी एक नम्बरी हुनै सकोइन । सुन जाँच्ने कसीले, मान्छे परख्ने विवेकले । गोदबाले आफ्नो मान कायम राख्न सकेन । दूषित पुरस्कारको काम छैन । कर्तव्यच्युतको सह्राहना, कर्तव्यनिष्ठको अवहेलना । सत्य पेचिलो । पेचिलो गैर-आख्यान लेखेमा पेच पर्दो रहेछ कि क्या हो; कोही कोही अँधेरमुखे भैदिन्छ । रगतले मात्र आफ्नो हुन्न : सुनमा सुगन्ध थप्न त सत्व्यवहार नि चाहिन्छ नि ।
बाऊआमाले पढ् भन्दा नटेर्दो अहिले पछुताउँदै निकृष्टत्तम काम गर्दो । फुट/लुटको खेती जारी, मुलुकको बाल मतलब ! मान्छे अमान्छे भो; सज्जन छानेर संगत गरे भैगो नि त, किन रडाको मच्चाउनु पऱ्या छ र ?
जोइपोइको झगडा भए नि आन्दोलन, पार्टीको अन्तर्कलह भए नि आन्दोलन, जे भए नि आन्दोलन । के बिदी सस्तेको आन्दोलन ? यस्तो भएसि त ओज नै घट्ने भो नि आन्दोलनको ।
यति सानो देशमा कति धेरै सांसद/मन्त्रीहरू । आर्थिक भार थेग्न नसकेर मुलुक कंगालिदो । शानशौकत/मान/दर्जा घट्दो छ – अन्तर्राष्ट्रिय मञ्चमा । राष्ट्रिय स्वाधीनता धरापमा । शब्दजालयुक्त संविधानको व्यावहारिकता कमजोर भइदिनाले लठाबज्र भो । कसले सम्हाल्ने ? लोकतन्त्रको नाउँमा छाडापन; आदर सत्कार अतीतको गीत भो । बज्रस्वाँठ हुटेल/भट्टी रुङ्दो ।
अस्वभाविकता अस्वभाविक लाग्छ नै । पापी परत्रको कुरो सुन्नै चाहन्न; धर्मको चेष्टा भए पो । आधुनिक मनुवा स्वभाविकता/अस्वभाविकता, औपचारिकता/अनौपचारिकतामा रुमलिँदो छ । चुनाउ आउँछ, पेण्डुलमे मासुच्युरा घिच्छ; चुनाउ जान्छ, ऊ नेतालाई सराप्छ । बेथा लागेकी आईमाई झैं । नेपालीले यथोचित मूल्याङ्कन/संश्लेषण/विश्लेषण गर्न नसक्नाले आफ्नो गोडामा आफैले बञ्चरो हान्या हो कि ।
नौलो काम गरे आँखाको कसिङ्गर बनिने । मान्छे परिवर्तनशील छ : त्यसैले त सिद्धान्त, दल र मत फेर्छ । बगेको पानी स्वच्छ हुन्छ; तालिएको पानी दूषित हुन्छ । जीवन सधैं एक लयमा बग्दैन; बग्न दिनु नि हुन्न । जीवनको रहस्य कटमिराहरूलाई के थाहा ? निकृष्ट निकृष्ट नै हुन्छ; उत्कृष्ट हुन्न । छिद्रान्वेषीले आफू निस्केको छिद्र नि देख्छ । जिन्दगी त प्रयोगशाला : निष्कर्षमा बग्रेल्ती कैफतहरू । मित्रलाई मित्र त भन्न सकियो क्यार, शत्रुलाई कसरी मित्रु भन्न सकिएला र ? साथीलाई मित्र भन्दैमा केही लछारपाटो लाग्ने रहेनछ । साँपलाई दुध पियाए नि बिखै ओकल्दो रहेछ ।
जमाना बदलियो, नेपालीको सोच बदलिएन । भ्रष्ट भ्रष्टाचार गर्दो, आफ्नो बानीबेहोर किन छोड्दो ? दिमागमा गिदीको ठाउँमा गोबर छ । गधा धोएर गाई हुन्न । मुखमा राम राम बगलीमा छुरा !
स्वामी विवेकानन्द काम विशेषले अम्रिका गएका थिए । त्यहाँ रहँदाबस्दा उनीलाई अम्रिकाने रसिलो स्याउ खान मन लाग्यो । उनी पसलमा गएर स्याउ किन्न थाले । पसलेले उनीलाई कमसल स्याउ थमाएको एक जना बालकले हेरिरहेको थियो । जब विवेकानन्द स्याउको बिल तिरेर दोकानबाट निस्कनै लागेका थिए, उक्त बालकले उनीलाई रोक्यो र भन्यो, ‘महोदय, तपाईंलाई आपत्ति लाग्दैन भने यो स्याउ मलाई दिनोस् र यसको परल मोल मबाट लिनोस् ।’
बालकको निश्छल व्यवहारले विवेकानन्द अक्मकाए । उनले बालकलाई सोधे, ‘किन, बाबु ?’ बालकले जवाफ फर्कायो, ‘महोदय, यो स्याउ कुहिएको छ । यस्तो स्याउ किन्नुभएसि आफ्नु मुलुकवासीलाई मेरो देशको बारेमा गुनासो गर्दिनु भो भने मलाई ननिको लाग्छ; मेरो राष्ट्र कलङ्कित हुनेछ ।’
बालकको देशप्रेम देखेर विवेकानन्द तीन छक परे । उनले भने, ‘म तिम्रो राष्ट्रप्रेममा गर्व गर्छु । मैले आफ्नु देशमा फर्केर कसैसित नि तिम्रो राष्ट्रको बारे शिकायत गर्दिनँ बरु त्यो मुलुकका बालबालिकाहरू राष्ट्रप्रेमी छन् भनेर प्रशंसा गर्नेछु ।’
आशक्ति त्याग्न सके त जीवन मोक्षमय नै हुने थियो नि । जय नेपाल जय नेपाली । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया