काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा
रास्वपामा पहिरो जाने क्रम जारी देखिएको छ । काठमाडौं ५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहिसकेका रास्वपा नेता प्रणय शमशेर राणाले राजीनामा दिएर कांग्रेस प्रवेश गरेपछि उक्त पार्टीमा पुनः पहिरो गएको छ ।
बेथिति सुधारको साटो उल्टो अनियमतिता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार (१५ फागुन) सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा पत्रमा प्रतिनिधिसभा उम्मेदवार छनोटको आवरणमा आर्थिक अनियमिततासमेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् ।
यसैगरी लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुऱ्याएको भन्दै राजीनामापत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले राजीनामा दिइएको उल्लेख छ ।
राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापा मगर छन् ।
यसैगरी, वडा पदाधिकारीहरु बुनपा ७ की प्रतिभा सेढाईं, बुनपा ७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरु बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् ।
उनीहरू रास्वपाका पूर्व उम्मेदवार प्रणय राणा निकट मानिन्छन् । राणा हालैमात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ ।
प्रतिक्रिया