अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको बताएका छन् ।
अमेरिका र इजरायलले शनिबार विभिन्न इरानी शहरहरूमा आक्रमण गरेका थिए । आइतबार बिहान अमेरिकी राष्ट्रपतिले ट्रुथ सोसलमा खमेनीको मृत्यु भएको दाबी गरेका हुन् ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खमेनी अब मरेका छन् । यो इरानका जनताका लागि मात्र होइन, खमेनी र उनको रक्तपिपासु गिरोहद्वारा मारिएका वा घाइते भएका महान् अमेरिकीहरू र विश्वभरका धेरै देशका जनताका लागि पनि न्याय हो ।’
‘उनी हाम्रो गुप्तचर र परिष्कृत ट्र्याकिङ प्रणालीबाट बच्न सकेनन्, र इजरायलसँग संयुक्त रूपमा गरिएको अपरेशनमा, न उनी न त उनीसँगै मारिएका अन्य नेताहरूले केही गर्न सकेका थिए ।’
‘इरानी जनताले आफ्नो देश फिर्ता लिन पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो अवसर हो । हामीले सुनिरहेका छौं कि उनीहरूका सैन्य अधिकारीहरू, अन्य सुरक्षा बल तथा प्रहरीहरू अब लड्न चाहँदैनन्, र उन्मुक्ति चाहिरहेका छन् । आशा छ, उनीहरू शान्तिपूर्ण रूपमा इरानका देशभक्तहरूसँग सामेल हुनेछन् ।’
यसैबीच, इरानको सरकारी टिभीले पनि अयातोल्लाह अली खामेनीको मृत्युको पुष्टि गरेको छ ।
प्रतिक्रिया