दुर्गा प्रसाईं पुनः पक्राउ

दुर्गा प्रसाईं पुनः पक्राउ


मेडिकल ब्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आज (१७ फागुन) बिहान उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

शनिबार राति प्रसाईंले फागुन १७ (आज) देखि देशब्यापी रुपमा आम हडतालको आह्वान् गरेका थिए ।

प्रहरीले आज बिहान पक्राउ पुर्जी थमाएर प्रसाईंलाई नियन्त्रणमा लिएको बुझिएको छ । पक्राउ पुर्जीमा प्रसाईंमाथि ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दा’मा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको र हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको जनाइएको छ ।

ज्ञातव्य छ, यसअघि प्रसाईं गत ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी गत १३ फागुनमा रिहा भएका थिए ।