✦ राजबाबु शंकर

झापा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ नेपाली राजनीतिको एउटा थप रोचक प्रयोगशाला बन्ने निश्चित छ । यो भूगोल यसपटक परम्परागत राजनीतिक शक्ति र प्रविधिमैत्री ‘जेन-जेड’ पुस्ताको चेतना बीचको टकरावको केन्द्र पनि बनेको छ । विगतका आम चुनावहरूमा सीमित राजनीतिक दलहरूको पकड रहेको यस क्षेत्रमा यसपालि नयाँ मतदाता र बदलिएको सामाजिक मनोविज्ञानले निर्णायक भूमिका खेल्ने आकलन गरिंदै छ ।
झापा क्षेत्र नम्बर–३ को चुनावको परिदृश्य विगतभन्दा निकै भिन्न र रोचक देखिएको छ । यस क्षेत्रको चुनावी समीकरण र परिवर्तनको लहरलाई विश्लेषण गर्दा, विगतका दुई चुनावमा एमाले र राप्रपा.बीच चुनावी तालमेल हुँदा राजेन्द्र लिङ्देनका लागि बाटो सहज थियो । तर, यसपटक समीकरण फेरिएको छ र राप्रपा अध्यक्ष ६० वर्षीय राजेन्द्र लिङ्देनलाई आफ्नो विरासत जोगाउने चुनौति छ । यसपटक एमाले.ले आफ्नै उम्मेदवार ६६ वर्षे हरिबहादुर राजवंशीलाई प्रत्याशी बनाएकाले लिङ्देनलाई एमालेको ‘कोर भोट’ पाउन कठिन हुने छ । यसै क्षेत्रका चर्चित कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको सम्भवतः उत्तराधिकारीका रूपमा कांग्रेसले नयाँ अनुहार ६४ वर्षे राजेन्द्र घिमिरेलाई अघि सारेको छ । जसले केही युवा मतदाता तान्ने छन् । अर्का ४५ वर्षे प्रत्याशी नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरे ‘हिक्मत’ हुन् । सांगठनिक मतमा अरू उल्लेख्य मत थप हुने आशामा मतदाताको घरआँगनमा दौडाहा गरिरहेका उनी पुग्ने उनी पनि कमजोर उम्मेदवार होइनन् ।
यही फागुन २१ गते हुन लागिरहेको यो चुनावमा नेपालभर करीब ९ लाख १५ हजार नयाँ मतदाता थपिएका छन्, जसमा ठूलो हिस्सा १८ देखि २१ वर्षका ‘डिजिटल जेनेरेशन’को छ । झापा-३ मा पनि यो संख्या निर्णायक हुने देखिएको छ । यसै पनि जेन-जेड मतदाताहरू ‘पुरानो राष्ट्रवाद’ वा ‘परम्परागत दलीय गुट’ भन्दा पनि रोजगारी, सूचना प्रविधि र सुशासनलाई प्राथमिकता दिने छन् । सामाजिक सञ्जालमा सक्रिय यो नवपुस्ताले उम्मेदवारको विगतको ‘ट्रयाक रेकर्ड’ गरिरहेको छ । जेन-जेड अर्थात् नवपुस्ताको प्रतिनिधित्व गर्ने दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका ३७ वर्षे युवक उम्मेदवार प्रकाश पाठक यो निर्वाचन क्षेत्रका सशक्त प्रत्याशी मानिएको छ । जताततै ‘घण्टी’को माहोलले उनलाई जीतको परिणामसम्म पुऱ्याउने हो कि भन्ने पनि चर्चा सघन बनेको छ ।
यस बाहेक स्वतन्त्र र नयाँ दलको आकर्षण पनि यसमा प्रभावी हुने नै छ । रवि लामिछाने नेतृत्वको रास्वपा र बालेन/हर्क साम्पाङ जस्ता पात्रहरूबाट प्रभावित युवाहरूको झुकाव पुराना दलभन्दा कार्यमुखी अर्थात् ‘डेलिभरी’ दिने शक्ति तर्फ केन्द्रित छ । हर्क साम्पाङ (धरान उपमहानगरका निवर्तमान मेयर) नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट यस क्षेत्रमा खासगरी जनजातीय मत खिच्ने एक सशक्त प्रत्याशी ४८ वर्षका दीपक तिम्सिना हुन् ।
यी बाहेक भद्रपुर नगरपालिकाको १ देखि ८ सम्मका वडा; हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको वडा १० समेटिएको र १ लाख ४० हजार ८ सय ५७ मतदाता रहेका झापाको यस निर्वाचन क्षेत्र ३ मा कर्णलाल राजवंशी (जसपा-नेपाल), हरसलाल राजवंशी (जनमत पार्टी), धर्मलक्ष्मी दुवाल लघु (नेमकिपा), यामकुमार श्रेष्ठ (मंगोल नेशनल अर्गनाइजेशन), चन्द्रकला सावा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), जयेन मगर (नेशनल रिपब्लिक नेपाल), सन्तोष कटुवाल नेकपा (माओवादी), श्यामकृष्ण पाठक (उज्यालो नेपाल), विनिता कुमारी राजवंशी (जसपा/राष्ट्रिय मुक्ति) का साथै २ जना स्वतन्त्र प्रत्याशी मानप्रकाश संग्रौला र अभय राजवंशी रहेका छन् ।
विगतको चुनावी नतिजाले यहाँको प्रतिस्पर्धा कति साँघुरो हुन्छ भन्ने दर्शाउँछ । २०७९ सालमा राजेन्द्र लिङ्देन (राप्रपा)ले एमालेको समर्थनमा ४०,६६२ मत हासिल गरी विजयी हुँदा कांग्रेसका धुरन्धर नेता कृष्णप्रसाद सिटौलाले पाएको मत ३७,३८६ थियो । अर्थात्, मतान्तर केवल ३,२७६ थियो । त्यसपछि रास्वपाका प्रकाश पाठकले केवल ३,४६१ मत पाएका थिए ।
यसपटक राप्रपा, कांग्रेस र एमाले एक्लाएक्लै लड्दा र २०८२ सालको यो चुनावसम्म आइपुग्दा थप भएका ९ हजार ४ सय २५ नयाँ मतदातामध्ये अधिकांश १८ देखि २१ वर्षका अर्थात् ‘पहिलो पटक मतदान गर्ने’ नवयुवाहरू छन् । हो, यही संख्या हार-जीतको मुख्य कडी बन्ने निश्चित छ । नयाँ युवा मतदाता थपिंदाको मतान्तरले नतिजालाई जुनसुकै तर्फ पनि मोड्न सक्ने अवस्था विद्यमान छ ।
अघिल्लो चुनावमा एमाले.को समानुपातिक मत १९ हजार ४ सय ६०, कांग्रेसको २५ हजार ५ सय ३५, राप्रपा.को १९ हजार ७ सय ४३, रास्वपा.को ७ हजार ८ सय १२, माओवादीको ७ हजार ५ सय ५९ र नेकपा एसको ३ सय ४५ थियो । पहिला ३ पार्टीमा मत बाँडिएको मत यसपटक ४ वटा पार्टीमा बाँडिने लगभग निश्चित छ । तर, यसपटकको चुनावमा २००० को दशकमा जन्मिएको पुस्ता (जेन-जेड)को उपस्थिति बलियो छ । जुन पुस्ता ‘राजतन्त्र’ वा ‘गणतन्त्र’ जस्ता सैद्धान्तिक बहसभन्दा पनि सुशासन, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवामा विस्तार र रोजगारी चाहन्छ । युवाहरू स्थानीय तहमा नवप्रवर्तन, उद्यमशीलता र प्रविधिमैत्री पूर्वाधारको मागमा केन्द्रित छन् ।
यो नवपुस्ताका लागि उम्मेदवारको योग्यता वा दल वा सिद्धान्तले कुनै माने राख्दैन । उनीहरू जनतालाई सहजतापूर्वक ‘डेलिभरी’ गर्ने क्षमता भएको उम्मेदवारको पक्षपोषण गर्दछन् । पछिल्लो समय देशभर चलेको भ्रष्टाचारविरोधी लहरले झापा–३ का सचेत युवा-युवतीहरू पनि निकै प्रभावित छन् । भ्रष्टाचारविरोधी चेतका उनीहरू स्वच्छ छवि भएका उम्मेदवारको समर्थनमा छन् । यसको अर्थ- नयाँ पुस्ताले जसलाई रोज्छ, जीत उसैको सुनिश्चित हुने देखिन्छ ।
नेपालको कूल मतदातामध्ये ५२ प्रतिशत १८ देखि ४० वर्ष उमेर समूहका छन् । झापा-३ को सन्दर्भमा पनि यो तथ्यांक लागू हुन्छ । यस क्षेत्रमा १८ देखि ४० वर्ष उमेरका मतदाताको संख्या लगभग ७३ हजारको हाराहारीमा छ । त्यसमध्ये करीब १० % मतदाता (१४ हजारभन्दा बढी) यस्ता छन्, जो पहिलो वा दोस्रो पटक मात्र संसदीय चुनावमा मतदान गर्दैछन् । यो समूह परम्परागत पार्टीको ‘झण्डा’ बोक्नुभन्दा उम्मेदवारको ‘एजेण्डा’ लाई हेर्न रुचाउँछ ।
यस क्षेत्रमा क्लस्टर र भूगोलको प्रभावलाई आकलन गर्दा, प्रभाव फरक-फरक देखिन्छ । भद्रपुर नगरपालिका (वडा १-८)मा शहरी र मिश्रित मतदाता छन्, जहाँ रास्वपा र कांग्रेसको प्रभाव टक्करको हुने छ । हल्दिबारी र बिर्तामोड-१० क्षेत्र राप्रपा र एमालेको पकड क्षेत्र मानिन्छ । तर, एमाले.ले आफ्नै उम्मेदवार उठाएका कारण यहाँको भोट बाँडिने निश्चित छ । कचनकवल र बाह्रदशी गाउँपालिकामा जातीय र क्षेत्रीय मुद्दाहरू बलिया छन् । त्यहाँका अल्पसंख्यक र आदिवासी समुदायको भोट निर्णायक हुन्छ ।
युवाहरूको आकांक्षा र ‘जेन-जेड’को बदलिएको आमूल परिवर्तनमुखी र सुशासनमैत्री चाहनालाई बुझ्न र सम्बोधन गर्न सक्ने ल्याकतको इमानी र जवाफदेही उम्मेदवारको यो खोजी परम्परागत दलहरूले पहिल्याउन नसक्दाको परिणामका कारण झापा-३ बाट यसपटक एउटा यस्तो सन्देश जाने छ – जसले सिंगो देशको राजनीतिलाई नयाँ दिशा निर्देश गर्ने छ । यहाँका मतदाता अब अमुक ‘आस्था’का आधारमा मात्र होइन, ‘अपेक्षा’ लाई इमान्दारीका साथ सम्बोधन गर्ने उम्मेदवारलाई भोट खसाल्न तयार छन् ।
प्रतिक्रिया