✍ आचार्य प्रभा
यतिखेर विश्व नै ध्वस्त बनेर
खरानीमा परिभाषित हुँदै गर्दा
म भने, मेरै घरआँगनभित्र
अनौठो स्वार्थलिप्सामा दौडिरहेछु
कसैलाई पछारेर अगाडि बढ्न,
र, निश्चिन्त बनेर आफ्नै भागबण्डाको
लालचमा एकोहोरिइरहेछु म ।
आखिर लालच के रहेछ र ?
एकार्काबीच बैमनष्यता गराउने
झिनो स्वार्थ,
मेरो-तेरोको भागबण्डा गराएर
मानवीय गुणलाई पशुत्वमा धकेल्ने
पापिष्ट खेल,
कसैको जीवनलाई मृत्युमा अनुवाद गरेर
आफू रमाउने निकृष्ट तमाशा ।
चाहे घरसंघारभित्र होस्
या गाउँ, शहरमा होस्
लालच र अहंकारी स्वभावले नै
मनमुटावको जरो गाड्दोरहेछ
जसरी यो घडीमा ती अहंकारी मनहरु
एकापसमा जुधेर
निरीहहरुको ज्यानलाई
बम र बारुदको बिष्फोटसँगै उडाइरहेछन्
अनि आफूले जितेको दिवास्वप्न देख्दै
खुशीको पताका फहराइरहेछन् ।
त्यस्तै म पनि यहाँ आफ्नै जितको
झण्डा फहराउने अभीप्सामा
लालचको दौड दौडिरहेछु
नदेखे झैं, नसुने झैं गरी
तर विश्व भने,
धुँवाको मुस्लोभित्र लुट्पुटिएर
विवशताको शिकार बन्दै
अस्तित्वहीन बन्ने तयारीमा छ
त्यही विवशताभित्र
लाखौं आँखाहरु चिच्याउँदै रोइरहेछन्
तर म आफ्नै स्वार्थको दौडमा
लाटो, बहिरो, अन्धो भएको छु
विश्वको चिन्ता होइन यतिखेर
आफ्नै सानो दुनियाँलाई मात्र
मेरो साम्राज्य बनाउन
म आतुर छु।
✦ दमक (झापा)
प्रतिक्रिया