विद्यालयहरूमा बेला छँदै नैतिक शिक्षा/हाम्रो इतिहास अध्यापन नगराउने हो भने अत्याधुनिक ‘एप्प’हरूले दिमाग गिजोलेका भावी दर्सन्तानहरूले विवेक पुऱ्याउन नसक्ने यथार्थ दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । सबैलाई चेतना भया ।
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । म हाइपोथेटिकल बेसी एक्सपेरिमेन्टल सत्य रुचाउँछु । मेरो प्रयोगशालाबाट नि:सृत निष्कर्षहरू कटु हुन सक्लान् परन्तु ओखतीमय छ । हाई/हेलो गरे मान्छे फुरुङ्गिन्छ : गजधम्मिए पिल्सिन्छ । सबैलाई किन मुछ्नु पऱ्या छ र ? कोही-कोहीको कोखमा दाँत चैं हुन्छ है ।
संविधान संविधान जस्तो भइदिए त जनता सुखी नागरिक हुन्थे होलान् । रजतमय हिमाल हेरेर मात्र के गर्नु ? भुँडीको समस्या ज्युँकात्युँ छ । बाग्मतीमा धेरै पानी बगिसक्यो; नेपालीको हविगत साविक झैं । कुन दल कति पानीमा भन्ने थाहा भैसक्यो; झुक्याउनु परोइन । चुनाउको पर्याय घात/अन्तर्घात । चुनाउ आउँछ जान्छ । दोषरहित दल नै देखिन्न – कोही जलसन्धिमा त कोही भ्रष्टाचारमा, कोही काण्डमा त कोही ठगीमा तीन शहर वर्णाएका । कोही भारतपरस्त त कोही चीनपरस्त कोही अम्रिकापरस्त । पञ्चशीलको सिद्धान्त मान्ने को ? कमलराज शर्माको ब्रम्हास्त्र पढे भैगो नि; धेरै कुरा किन गर्नुपऱ्या छ र ? मेरो देश रणभूमि नहोस् – यही सदिच्छा ।
मन , वचन र शरीर पाप गर्दो । आशक्ति किन बढाउने हो र ? वरत्र परत्रको सुझबुझ नैखे – निकृष्ट खाल्टोमा जाकिंदो । ग्राहमय नदीमा गोहीसित वैमनश्यता साध्नु महङ्गै पर्ने । विवेक पुऱ्याउनुपर्ने बेला निर्विवेकी हुने, पछि पछुताएर के हुने ? आध्यात्मिक चेत नहुनाले नि पाप बढ्या हो कि । उमेर छँदैमा सुकर्म गर्न्या हो; आयु निख्रेसि के गर्ने हो र ? झ्याँक्नेहरूलाई बैठ्याउनुपर्ने, कति करकर सुन्ने हो र ? असहमतिमा कैफियत जनाउने ह; दोषीसित त सती जान सकिन्न पो ।
मृत्युशैय्यामा श्रीकृष्ण भगवानसितको अनुभूतिमूलक साक्षात्कारपश्चात् महाकवि देवकोटाले आफू जीवनभर नास्तिक भएकोमा पछुताउँदै भदौ ८ (?!), २०१६ मा निम्न कविता रचना गर्नुभो –
संसाररुपी सुख-स्वर्गभित्र, रमेँ रमाएँ लिइ भित्र चित्र ।
सारा भयो त्यो मरुभूमि तुल्य, रात परेझैँ अब बुझ्छु बल्ल ।।
रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक ।।
महामरुमा कणझैँ म तातो, जलेर मर्दो बिनु आश लाटो ।
सुकिरहेको तरुझैँ म छु खाली, चिताग्नी तापी जल डाल्न फाली ।।
संस्कार आफ्नो सबै नै गुमाएँ, म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ, आखिर भै खाक त्यसै बिलाएँ ।।
देवकोटा साक्षी हुँदाहुँदै हाम्ले भगवानउपर किन अविश्वास गर्ने ? यो कि ऊ कि को भ्रममा भौतारिँदैमा आत्मा उड्दो, सर्वशक्तिमान परमेश्वर त एक नै हुनुहुन्छ; सन्देह गर्नु परोइन । सत्य पचाउन गाह्रो पो छ हऊ । अध्यात्म शास्त्रको निर्देशनहरू पालना गर्न धौ भो; ईश्वर छैन भन्देसि टण्टै खलास ।
लिलिपुट त कदका होचा बुद्धिका पाका । डिजिटल पुस्ता डिजिटलमय भो; विवेकमा कच्चा हुन्छन् कि भन्ने पीर पो छ । देख्या सत्य कुरा खस्रो भाकामा लेख्नैपरो क्यारे । जे होस्, चिप्लो कुरा त गर्नु भएन नि ।
जति जोगी आए कानै चिरिएका नहोस् भन्यो त्यस्तै भइदिन्छ । भूस्वर्ग हो नेपाल । हाम्रो नियति के भो के भो ? सधैं यथास्थितिमा रहन्छौं कि परिवर्तित हुन्छौं ? शासकको बुद्धि फिरोस्; नेपाल/नेपालीको जय होस् ।
धेरै वर्षअघिको कुरो हो । एक दिन एकादेशका राजा शिकार आखेटमा वन गए । ज्यास्ती धामा गर्दा नि शिकार फेला परेन । राजालाई तिर्खा लाग्यो । उनले सिपाहीलाई पानी ल्याउन अह्राए । सिपाहीले पानी खोज्ने उपक्रममा दृष्टिविहीनको झाप्रो देख्यो । उसले दृष्टिविहीनलाई भन्यो, ‘ए … ! एक लोटा पानी दे त ।’
प्रत्युत्तरमा दृष्टिविहीनले भन्यो, ‘घस्की जा । तँ जस्तो सिपाहीलाई पानी दिन्नँ ।’ सिपाही रित्तो हात फर्कसि राजाले पानी ल्याउन सेनापतिलाई खटाए । सेनापतिले नि दृष्टिविहीनसित सिपाहीले जस्तै दुर्व्यवहार गरेसि पानी नपाएर त्यत्तिकै फर्क्यो । आखिर राजा आफै पानी लिन गए । उनले दृष्टिविहीनलाई प्रणाम अनि अनुरोध गरे, ‘महोदय, घाँटी रसाउन एक लोटा पानी पाए ठुलो गुन मान्ने थिएँ ।’
दृष्टिविहीनले राजालाई आफ्नो छेऊ बसाएर भन्यो, ‘हजुर जस्तो श्रेष्ठ राजालाई पानी त के, ज्यान दिन नि तयार छु ।’ राजाले अमृतरुपी चिसो पानीले तिर्खा मेटाएर सोधे, ‘तपाईंले देख्न सक्नुहुन्न तर कसरी सिपाही, सेनापति र राजा छुट्याउन सक्नुभो ?’
दृष्टिविहीनले जवाफ दियो, ‘वाणीको व्यवहारले व्यक्तिको स्तर थाहा पाउन सकिन्छ ।’
विद्यालयहरूमा बेला छँदै नैतिक शिक्षा/हाम्रो इतिहास अध्यापन नगराउने हो भने अत्याधुनिक ‘एप्प’हरूले दिमाग गिजोलेका भावी दर्सन्तानहरूले विवेक पुऱ्याउन नसक्ने यथार्थ दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । सबैलाई चेतना भया । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया