- आरपी उपाध्याय, नवलपरासी
प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काङ्ग्रेस (बसुप) अनुशासन समितिले निर्वाचनमा अनुशासनहीन कार्य गरेको भन्दै लुम्बिनी प्रदेश सरकारका मन्त्री, पुर्व गृह राज्यमन्त्रीसमेत २२ जनालाई कारवाही गरेको छ ।
नेपाली काङ्ग्रेस अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने उद्देश्यले मत मागेको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारवाही गरेको हो ।
नेपाली काङ्ग्रेस महासमिति सदस्य समेत रहेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार र पुर्व गृह राज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधव पाण्डेसहित क्षेत्र नं. १ बाट १९ र क्षेत्र नं. २ बाट तीन व्यक्तिहरु कारवाहीको सिफारिसमा परेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं. २ का लागि कँडेल र भीमबहादुर थापाले केन्द्रबाट टिकट ल्याएकोमा निर्वाचन आयोगले थापाको उम्मेदवारी कायम गरेको थियो ।
निर्वाचनमा क्षेत्र नं. १ बाट नेपाली काङ्ग्रेसको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विनोद कुमार चौधरीले अनुशासनहीनताको विवरण खोली अनुशासन समितिमा लिखित उजुरी दिएपछि अनुशासन समितिका संयोजक गोविन्द ढकालले केन्द्रीय समितिमा सिफारिस गरि पठाइएको जानकारी दिएका छन् ।
केन्द्रीय अनुशासन समितिमा पठाइएको पत्रमा निर्वाचन क्षेत्र नं. १ र २ का उम्मेदवारले दिएको लिखित पत्र अनुसार पार्टी हितका विपरीत गतिविधिमा संलग्न भइ अन्य पार्टीका लागि मत मागेको र काङ्ग्रेसको उम्मेदवार हराउने कार्यमा संलग्न रहेको हुँदा काङ्ग्रेसको विधान २०१७ दफा ३४ उपदफा ख बमोजिम ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरि कारवाही गरिएको उल्लेख गरिएको छ ।
प्रत्यक्ष रुपमा असहयोग गरेकोमा विधानबमोजिम पार्टीबाट निलम्बन गर्ने प्रावधान रहेको हुँदा उक्त कारवाही गरिएको जिल्ला अनुशासन समितिले बताएको छ।
प्रतिक्रिया