काठमाडौं १ मा रास्वपाकी न्यौपाने विजयी, ललितपुर १ मा कांग्रेसका राणाको अग्रता

काठमाडौं १ मा रास्वपाकी न्यौपाने विजयी, ललितपुर १ मा कांग्रेसका राणाको अग्रता


प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी बनेकी छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई ९ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भएकी हुन् ।

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार कांग्रेसका थापा क्षेत्रीले ५ हजार ३६४ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा २९ हजार ७७४ मत खसेकामा २९ हजार ८२ सदर र ६९२ मत बदर भएको थियो ।

वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएकी न्यौपाने निर्वाचनअघि विवेकशील साझा पार्टीबाट रास्वपामा प्रवेश गरेकी थिइन् ।

यसअघि २०७४ मा उनी २१ वर्षको उमेरमै काठमाडौं महानगरपालिकाको प्रमुखको प्रत्यासी बनेकी थिइन् ।

यसैबक्रममा ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता कायम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा बिहान १०ः३० बजेसम्मको परिणामअनुसार राणाले तीन हजार १४४ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले एक हजार ७५३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले एक हजार ६५२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल ७७ हजार ७३७ मतदातामध्ये ५२ हजार ६३२ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी २८ जना प्रत्यासी छन् ।