बझाङमा एमालेका उम्मेदवार महर विजयी

बझाङमा एमालेका उम्मेदवार महर विजयी


प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी बनेका हुन् ।

कूल ५७ हजार ९९४ मत खसेकोमा महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

त्यस्तै, नेकपा माओवादीका उम्मेदवार भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन् ।

✦✦✦

ललितपुर–१ रास्वपाका महर्जन विजयी

ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी भएका छन् । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गरेका छन् भने ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गरेका छन् ।

✦✦✦

पर्सा–१ बाट रास्वापाका पन्त विजयी

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् । उम्मेदवार पन्त २७ हजार २७४ मत ल्याएर विजयी भएका हुन् । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गरे । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूँगटाले ११ हजार ८८५ मत ल्याएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गरेका छन् ।

✦✦✦

कैलाली–१ मा रास्वपाकी ज्ञवाली विजयी

कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी बनेकी छन् । उनले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गरेका छन् ।

✦✦✦

रुपन्देही–२ मा रास्वपाका खरेल निर्वाचित

रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गरेका छन् ।

✦✦✦

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।

✦✦✦

महोत्तरी–१ मा रास्वपा उम्मेदवार महतो विजयी

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी बनेका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज (२३ फागुन) बिहान जारी गरेको अन्तिम निर्वाचन मतपरिणामअनुसार रास्वपा उम्मेदवार महतो ३४ हजार ६३६ मत ल्याएर विजयी भएक निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत ल्याएको जनाइएको छ ।