झापाका सबै क्षेत्रमा रास्वपा विजयी

झापाका सबै क्षेत्रमा रास्वपा विजयी


  • द्रोण अधिकारी, झापा

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको विवरण अनुसार झापा १ बाट निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भइन् भने २ बाट इन्दिरा राना मगर ६० हजार ११० मतसहित विजयी बनिन् । क्षेत्र नं. ३ बाट प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भए । ४ बाट शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित भए । झापा-५ बाट रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित भएका छन् ।

क्रमागत रूपमा तुलना गर्दा झापा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निशा डाँगी विजयी भएकी छन् । डाँगी ४५ हजार ६८० मतसहित विजयी भएकी हुन् । उनले नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ३५ हजार मतान्तरले पराजित गरेकी छन् । पाण्डेले १० हजार ५५० मात्र मत प्राप्त गरे । डाँगी २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फबाट सांसद थिइन् । उनी रास्वपाकी सचेतक समेत बनेकी थिइन् ।

झापा-२ बाट रास्वपाकी इन्दिरा राना मगर ६० हजार ११० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार देवराज घिमिरेले ११ हजार ३६८ मत पाए । विघटित प्रतिनिधिसभामा घिमिरे सभामुख थिए भने राना उपसभामुख थिइन् ।

यसैगरी, झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् । पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल निर्वाचित भएका छन् ।

ढकालले ४३ हजार ६ सय ३१ मत ल्याउँदै जित निकाले । एमालेका लालप्रसाद साँवा लिम्बुले ११ हजार ९ सय ८६, कांग्रेसका देउकुमार थेबले ९ हजार ४ सय ३४, श्रम संस्कृति पार्टीका अमृतादेवी राईले ७ हजार १ सय ६१ र राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याए ।

त्यस्तै झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन ६८,३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९,६१४ मतको अन्तर रह्यो ।

झापा-५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

३६ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन् । ४ वर्ष अगाडिसम्म ऱ्यापरका रूपमा नयाँ पुस्ताबीच मात्र चर्चित रहेका उनी काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चाको चुचुरोमै पुगे ।

२०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिँदा राजनीतिक विश्लेषकदेखि सञ्चार माध्यमसम्मले यसलाई उल्लेख्य रूपमा नोटिसमा लिएका थिएनन् । तर चुनावको नतिजाले नेपाली समाजभित्र मतदाताको मनोविज्ञान कसरी बदलिइरहेको छ भनेर संकेत राम्रैसँग देखायो ।

मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा आफ्नो परिचय भूगोलतिर व्यापक बनाउन सफल भए ।

काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाएका बताइन्छ । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, ऱ्यापर तथा कवि-लेखक शाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ ।