धादिङमा पुराना किल्ला भत्काउँदै रास्वपाको उदय

धादिङमा पुराना किल्ला भत्काउँदै रास्वपाको उदय


  • विकाश रौनियार, धादिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले धादिङको राजनीतिक दृश्यलाई नयाँ मोडमा पुर्‍याएको छ । लामो समयदेखि नेपाली कांग्रेस र नेकपा एमाले को प्रभाव रहेको जिल्लामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले दुवै निर्वाचन क्षेत्रमा जित निकाल्दै नयाँ राजनीतिक समीकरणको संकेत दिएका छन् ।

धादिङमा देखिएको यो परिणामलाई धेरैले सामान्य चुनावी नतिजाभन्दा पनि मतदाताको मनोविज्ञान र प्राथमिकतामा आएको परिवर्तन का रूपमा विश्लेषण गर्न थालेका छन्। परम्परागत दलप्रति असन्तुष्टि बढ्दै गएको र नयाँ विकल्पप्रति आकर्षण बढेको संकेत यस नतिजाले दिएको टिप्पणी पनि हुन थालेको छ।

धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ ३९ हजार १२८ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी भूमि त्रिपाठी (नेकपा एमाले) ले १५ हजार ३२ मत प्राप्त गरिन् ।

त्यस्तै, राजेन्द्र प्रसाद पाण्डे (नेपाल कम्युनिस्ट पार्टी)ले १४ हजार ७०९ तथा कृष्ण रिजाल (नेपाली कांग्रेस)ले १० हजार ८० मत प्राप्त गरेका छन् ।

तामाङले प्रतिस्पर्धीहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै क्षेत्र नम्बर १ मा स्पष्ट जनादेश प्राप्त गरेकी हुन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने यस क्षेत्रमा फरक तस्बिर देखिएको थियो । त्यतिबेला रास्वपाका हिमेश पन्त ले १२ हजार ४९४ मत मात्र प्राप्त गरेका थिए । कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट राजेन्द्र प्रसाद पाण्डेले ३६ हजार १८ र एमालेकी भूमि त्रिपाठी ले २७ हजार ९९७ मत ल्याएका थिए ।

यसपटकको परिणामले केही वर्षमै मतदाताको झुकावमा उल्लेखनीय परिवर्तन आएको देखाएको छ ।

धादिङ क्षेत्र नम्बर २ मा रास्वपाका बोधनारायण श्रेष्ठ २६ हजार १४५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश प्रसाद धमला (नेपाली कांग्रेस)ले २० हजार २७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै धन बहादुर घले (नेकपा एमाले)ले १० हजार ८४ तथा राम बहादुर भण्डारी (नेपाल कम्युनिस्ट पार्टी)ले ९ हजार ३६ मत प्राप्त गरेका छन् । श्रेष्ठले ५ हजार ८६६ मतान्तरले विजय हासिल गरेका छन् ।

धादिङ क्षेत्र नम्बर २ लाई लामो समयदेखि एमाले र कांग्रेसको प्रभाव क्षेत्रका रूपमा हेरिँदै आएको थियो । यस क्षेत्रमा रुवीभ्याली गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, खनियाँबास गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका समावेश छन् । अघिल्ला निर्वाचनहरूमा पनि यही दुई दलबीच प्रतिस्पर्धा हुँदै आएको थियो ।

२०७० मा धनबहादुर घले (एमाले), २०७४ मा खेम प्रसाद लोहनी (एमाले), २०७९ मा रामनाथ अधिकारी (कांग्रेस) विजयी भएका थिए । तर, यसपटक भने मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका श्रेष्ठलाई संसद् पठाएका छन् ।

धादिङको निर्वाचन परिणामले मतदाताको प्राथमिकतामा परिवर्तन आएको संकेत गरेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार केही मुख्य कारणहरू यसप्रकार देखिन्छन्स् परम्परागत दलप्रति बढ्दो असन्तुष्टि, नयाँ नेतृत्व र कार्यशैलीप्रति आकर्षण, विकास, सुशासन र पारदर्शिताप्रतिको अपेक्षा । तथापि, चुनावी विजयसँगै चुनौतीहरू पनि उत्तिकै ठूलो देखिन्छन् । मतदाताले दिएको जनादेशलाई व्यवहारमा उतार्न नसके नयाँ राजनीतिक विकल्पप्रतिको भरोसा पनि कमजोर हुनसक्ने विश्लेषण गरिएको छ ।

धादिङको यो परिणामलाई धेरैले स्थानीय तहबाट देखिएको राजनीतिक परिवर्तनको संकेत का रूपमा हेर्न थालेका छन् ।