बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज (२५ फागुन) एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सडकमा बाप्र ०२-०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी बसपू घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटरचालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।