धुलिखेल-खावा सडक : कालोपत्र गर्न रातको समय दुई साता यातायात बन्द गरिँदै

धुलिखेल-खावा सडक : कालोपत्र गर्न रातको समय दुई साता यातायात बन्द गरिँदै


अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको अवस्थामा कालोपत्रे (पक्की) बनाउन आगामी चैतमा दुई साता बन्द गरिँदै छ ।

निर्माण व्यवसायीको लापर्वाहीका कारण रोकिएको मर्मत कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिलाई तीव्रता दिइएको छ भने उक्त सडक खण्ड कालोपत्रे गर्नका लागि आगामी चैत ७ देखि २० गतेसम्म रातिको समयमा यातायातका साधन बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रे कामका लागि उक्त समयावधिमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इािन्जनियर सुनम योगेशका अनुसार आगामी चैत ७ देखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन चल्न रोक लगाइने भएको छ । यस्तै, उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । टिपर र ट्रकलगायत (पास लिएकासमेत) मालबहाक सवारीका साधनलाई चौबिसै घण्टा चलाउन रोक लगाइएको छ ।

उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले जानकारी दिए । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो ।

सम्झौताका समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसंग ठेक्का रद्द गरेको हो । सडक बिस्तारको काम कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् ।