आदर्श सासु-ससुरा, जसले बुहारीको न्यायको लागि लडे !

आदर्श सासु-ससुरा, जसले बुहारीको न्यायको लागि लडे !


मध्यरातमा एक्कासी बुहारी कहालिएर रोएको आवाज सुनेपछि आमाबुबा ‘छोरा, ढोका खोल.. के भयो ?’ भन्दै ढोका ढक्ढक्याउन पुगे । छोराको कुनै जवाफ नआएपछि बुहारीको अवस्थाप्रति चिन्तित ससुराले ‘ढोका खोल, नत्र पुलिस बोलाउनु पर्ला..’ भनी चेतावनी दिएपछि छोराले ढोका खोले । बुहारी रोएको आवाज सुनेका सासु-ससुराले छोरासँग ‘बुहारी किन रोएकी ? के भयो उसलाई ?’ भन्दै छोरालाई गाली गर्न थाले । बाउ-छोराबीच चर्काचर्की भयो । ‘छोरा भएर बाउलाई मुखमुखै लाग्छस् ? बोलाउँ पुलिस ?’ भनेर फोन गर्न लागेका थिए – बुहारीले रोकिन् । सासु-ससुराले बुहारीलाई आफ्नो कोठामा लिएर गए । बुहारी रुन-कराउन छोडिनन् । उनलाई चुप लगाउन हम्मे-हम्मे पऱ्यो । सासु-ससुराले सम्झाउँदै यसरी रुनुको कारण सोधे, अनि बुहारीले आफूमाथि सानै उमेरमा भएको दर्दनाक घटनाको वास्तविकता उजागर गरिन् ।

घटना यस्तो थियो …

उनी १२ वर्षकी हुँदा गाउँको एक धनाढ्य ब्यक्तिबाट यौन दुर्ब्यवहारको शिकार भएकी थिइन् । उनको परिवार गरिब भएकोले आमा-बुवा ज्याला-मजदुरी गरेर जीविकोपार्जन गर्थे । एउटा सानो भाइ पनि थियो । उनीहरूको परिवार कमजोर देखेर गाउँका ठूलाठालुका छोराहरूले जिस्काउने, उनको शरीर समाउन जाने गर्ने रहेछन् । एक दिन बिहान पानी लिन घरछेउमा रहेको इनारमा जाँदा एक व्यक्तिले उनको हात समातेर लछारपाछर गऱ्यो । उनले सुरक्षाका लागि गुहार माग्दै जोडसँग कराएपछि नजिकको प्रहरी कार्यालयबाट प्रहरी आए र केटालाई पक्राउ गरे । त्यसपछि उनलाई सुरक्षित तवरले राख्नको लागि प्रहरीले आश्रय-घरको खोजी गर्न थाले, तर ती व्यक्तिको प्रभावका कारणले तिनलाई कुनै पनि आश्रय-घरले राख्न मानेन र पछि प्रहरीले परिवारकै जिम्मा लगायो । ती ब्यक्तिमाथि यौन दुर्व्यवहारको मुद्दा चलायो ।

दिन बित्दै गयो । पछि ती पीडक ब्यक्ति रिहा भए । तर, पीडित बालिका त्यो ‘मानसिक घाउ’बाट रिहा हुन सकेकी थिइनन् । उनलाई मानसिकरूपले गहिरो दुष्प्रभाव पऱ्यो, आफ्नो बुबाआमा र भाइसँग पनि डराउन थालिन् । उनीहरु गरीब थिए । छोरीको दिमागी अवस्था बिग्रँदै गएको भन्दै बाउआमाले आफन्तजन र छिमेकीसँग सहयोग मागे, तर कसैले सहयोग गरेनन्, उल्टै केटकै गल्ती हो भन्दै तथानाम वचन लगाउन थाले ।

उनी बिस्तारै हुर्कंदै गइन् । स्कुलमा शिक्षक-शिक्षिकाले समेत उनलाई देखेर ‘छिः यस्ती केटी..’ भन्दै हेप्न थाले । ज्ञानको दियो बाल्ने स्थानबाट नै हेपाइ र आफूलाई कमजोर तुल्याउने ब्यवहार भएपछि उनले यो गाउँमा नबसौँ भन्दै बाबुआमासँग आग्रह गरिन् । लाचार भएर बुबाआमाले आफ्नो सन्तानको जीवन सुरक्षाको लागि अन्ततः गाउँ नै छोडे, आफन्तजन नातागोता सबैसँग टाढा भए । आफ्नै मामा-माइज्युले समेत ‘बलात्कार भएकीलाई भान्जी कसरी भन्ने ? लाज हुन्छ..’ भन्दै छिःछि-दुरदुर गरेपछि मामाघर जाने बाटो पनि बन्द भयो । बुबाआमाले छोरीलाई पहिलेको अवस्थामा फर्काउन धेरै कोशिस गरे, तर उनलाई त्यो केटाले गरेको दुर्व्यवहारको छाप उनको मानसपटलमा बारम्बार घुमिरहेकोले त्यो घटनालाई बिर्सन सकिनन् ।

यसो भएतापनि छोरीको उमेर पुगेपछि अभिभावकले गच्छेअनुसार राम्रो परिवार हेरेर छोरीको विवाह गरिदिए । विवाहपछि उनले आफ्नो श्रीमानसँग ‘मलाई नछुनुहोस्, सानैमा ममाथि यस्तो घटना भएको थियो’ भनेर वास्तविकता बताउँदा उनको श्रीमानले ‘तँ बलात्कारमा परेकी रहिछेस्’ भन्दै तथानाम भन्न थाले, अनि मानसिक चोट थपिएर उनी विछिप्त हुँदै रातकै समयमा रुन-कराउन थालिन् ।…

बुहारीमाथि घटेको यावत घटना सुनेपछि ससुराले ‘तिमीमाथि भएको घटनाको न्यायको लागि हामी साथ–सहयोग दिन्छौँ, तिमी अब एक्ली छैनौँ, आफनो मन सानो नबनाउ, हामी तिम्रो साथमा छौँ’ भनेर ढाडस दिए । कसैको साथ–सहयोग नपाएकी उनी साँचो बुबाआमा पाएँ भनेर भाबुक हुँदै रुन लागिन् ।

यथार्थ बुझेपछि ससुराले आफ्ना छोरालाई अबदेखि बुहारीमाथि अत्याचार नगर्न आग्रह गरे र, दुर्ब्यवहार गरिए प्रहरी लगाएर कानुनी कारवाही अघि बढाउने चेतावनी दिए । यसपछि छोराले पनि कुरा बुझेर आफूले गरेको ब्यवहारप्रति माफी मागे ।

अर्को दिन सासु-ससुरा सम्धी-सम्धिनीका भेट्न गए र बुहारीमाथि भएको घटनाको बारेमा थप बुझ्ने प्रयास गरे । केटीका आमाबुबाले पुरानो घटनाको बेलिबिस्तार लगाउँदै आफ्नी छोरीको कुनै दोष नभएको, अनाहकमा पीडित बन्नुपरेकोले उनलाई केही नगर्न बिन्तीभाउ गरे । छोरीको न्यायको लागि सघाउन उनीहरुले आग्रह गरे । सासु-ससुराले पनि ढाडस दिँदै बुहारीप्रति सहानुभूति रहेको र दुर्ब्यवहारको घटनाका कारण उनलाई परेको मानसिक चोटबाट बाहिर निकाल्न सबै मिलेर आवश्यक उपचार र कानुनी लडाइँ लड्नुपर्ने बताए ।

त्यसपछि उनीहरू प्रहरी चौकी गएर बुहारीमाथि भएको घटना सुनाए, तर प्रहरीले मामलाको हदम्याद गुज्रिसकेकोले कानुनीरूपमा अब केही गर्न नसकिने भन्दै लाचारी ब्यक्त गरे । बरु उनलाई राम्रो मनोविमर्शकर्तासँग भेट गराएर उपचार गरे पहिलेको अवस्थाबाट निकाल्न सकिन्छ भनेर प्रहरी अधिकारीले सुझाव दिए । मानसिक स्वास्थ्यका लागि काम गरिरहेको एक संस्थासँग सम्पर्क गर्न प्रहरीले नै सहयोग गऱ्यो । मनोविमर्श सुरु गरेको करिब एक महिनापछि उनको मानसिक स्वास्थ्यमा निकै सुधार भएको देखियो । उनी सबैसँग खुलस्त हाँस्न, बोल्न र रमाउन थालिन् । बुहारीमा आएको परिवर्तनले सासु-ससुरा एकदम खुशी भए । बुहारी ८ कक्षासम्म पढेकी छिन्, अब कम्तीमा स्नातकसम्म पढाउनुपर्छ भनेर बुहारीलाई स्कुलमा भर्ना गरिदिए । उनी पनि राम्रो अंक ल्याएर पास हुँदै गइन् । पारिवारिक अवस्था विस्तारै राम्रो हुँदै गयो । यसरी, बुहारीमाथि सानोमा भएको त्यो घटनाको दुष्प्रभावबाट पूर्णतः बाहिर निकाल्न ती सासु-ससुरा र तिनका छोरा सफल भए ।

माथिको सन्दर्भ वास्तविक घटनामा आधारित छ । हामीकहाँ घटना जोमाथि भएको छ उसैलाई शारीरिक र मानसिक रुपले एकदम कमजोर बनाइदिने, उसलाई नै ‘तिम्रै गल्ती थियो’ भन्दै दुर्ब्यवहार गर्ने प्रवृत्ति छ । अपराध भएपछि जसले गरेको हो उसैलाई भन्नुभन्दा पनि समाजका सबै व्यक्तिलाई डालोमा राखेर तथानाम ब्यवहार गर्ने हाम्रो सामाजिक तौरतरिका छ, जुन एकदम गलत छ । समाजमा यस्ता व्यक्तिहरु पनि धेरै छन् जसले अपराधपीडितलाई सहारा वा आश्रय दिएका छन् । कतिपय पुरुषले महिलामाथि भएको अन्यायको विरुद्धमा ठाउँमा बोलेका पनि छन्, घटना हुनबाट बचाएका पनि छन् । जस्तै – माथिको घटनामा नै हेरौँ । यदि पुरुष सबै खराब हुन्थे भने ती ससुरा पनि त पुरुष हुन्, उनले आफ्नो बुहारीको न्यायको लागि कतिसम्म उपकार गरे । यस्ता घटनामा परिवारले गरेको सहयोगलाई पनि समाजले हेर्नु, बुझ्नुपर्छ र अर्कोतर्फ न्याय केवल न्यायालयबाट मात्र मिल्ने नभइ समाजका ब्यक्ति-ब्यक्तिको सोच र दृष्टिमा पनि भर पर्छ । कोही कठिन अवस्थामा छ भने उसलाई आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्नु पनि न्याय नै हो । माथिको घटनामा सासु र ससुराले बुहारीमाथि न्याय गरेका छन् ।

अपराध गलत मानसिकताको उपज !

वास्तवमा अपराध गलत मानसिकताकै उपज हो । अपराध हुनको लागि कुन-कुन तत्वले प्रभाव पारेका छन् भन्ने कुरा प्रमुख हो । कानूनले निषेध गरेको कार्य गर्नु नै अपराध हो । आपराधिक मानसिकता व्यक्तिविशेषमा निहित हुन्छ । सबै व्यक्ति अपराधी हुँदैनन् । कुनै एक घटना भयो भने सबैलाई एउटै रुपमा हेर्नु पनि हामीभित्रको आपराधिक भाव वा कुदृष्टि हो, त्यो सोचाइलाई हामीले परिवर्तन गर्नु आवश्यक छ । सबैलाई अपराधी नजरले हेर्न थाल्यौं भने लैङ्गिक समानताको गन्तव्यमा पुग्न सक्दैनौँ, बाटोमै हराउन थाल्छौं र अनेकन टीका-टिप्पणीको सामना गर्नुपर्ने हुन्छ । वर्तमान समाजमा भैरहेको हरेक प्रकारको घटनाले समाजभित्रको दानवी शक्तिलाई बढाउने काम गर्दैछ र त्यसो हुनुमा तपाईं-हामी नै दोषी छौँ । हाम्रो घरको वातावरण कस्तो छ ? परिवारका सदस्यको बीचमा समन्वय छ कि समस्या छ ? दुवै पक्षको हुर्काइ-बढाइमा सिकाइएका कुराहरु कस्ता छन् ? यस्ता कुरालाई मसिनो ढंगले हेर्नुपर्छ ।

अपराधिक मानसिकता पुरुषमा पनि हुन्छ र महिलामा पनि हुन सक्छ । तर हामीकहाँ महिलाले पीडा दिएको छ भने हाम्रो धारणा अर्कै तरिकाले आउँछ, जसले गर्दा अनुसन्धान गर्ने निकायलाई प्रभाव पार्छ, न्याय निरुपण गर्ने निकायलाई पनि प्रभाव पार्छ । अपराध गर्ने छुट कसैलाई पनि छैन । यसबाट कोही भाग्न सक्दैन, खुला रुपमा हिँड्न पनि सक्दैन । अपराधमा एक पक्ष पीडित हुन्छ भने अर्को पक्ष पीडक हुन्छ । अहिलेसम्म हरेक प्रकृतिको अपराधलाई नजिकबाट हेर्दा केही अपवाद बाहेक पीडक पक्ष सबै कुराले सम्पन्न नै देखिन्छ चाहे पैसा होस् या पद-पावर-पहुँचको कुरा होस्, पीडकको पहुँच अलि टाढैसम्म हुन्छ । तर पनि कानूनको दृष्टिमा सबै समान हुन् । कानूनले दायाँबायाँ नहेरी निर्णय गर्छ । यो कुरालाई हामीले स्विकार गर्नैपर्छ ।

[email protected]