- आरपी उपाध्याय, नवलपरासी
पश्चिम नवलपरासी प्रतापपुरको बेलाटारीमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्ने वक्ताहरुले नेपाली काङ्ग्रेसभित्र अनुशासनहीन कार्य गर्ने जो कोहीलाई कडा कारवाही गर्नुपर्ने धारणा राखेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा क्षेत्र नं. १ मा पार्टीको हितविपरीत कार्य गर्ने वडा, पालिका, जिल्ला कार्यसमिति र महासमिति सदस्यहरूले पार्टीको आधिकारिक उम्मेदवारको प्रतिकुल हुनेगरी प्रत्यक्ष तथा परोक्ष रुपमा प्रचारप्रसार गरेको तथा उक्त निर्वाचन क्षेत्रमा बहुमत हुँदाहुँदै पनि सर्मनाक हार व्यहोर्नु परेको बताउँदै उनीहरूले त्यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई कडा कारवाही गरिनुपर्ने, अन्यथा अवसरवादी प्रवृत्तिले पार्टीमा ठूलो अनिष्ट गराउनेबारे खबरदारी गरे ।
नेपाली काङ्ग्रेस (ब.स.प.) निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशको आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन् ।
अन्तरक्रियामा सुस्ता, प्रतापपुर, बर्दघाटबाट आएका पार्टी नेता र कार्यकर्ताहरूले काङ्ग्रेसको बहुमत सहितको जनप्रतिनिधिहरु रहँदा पनि जनप्रतिनिधिहरुको उदासिनताकै कारण पार्टीले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै सुस्ता प्रतापपुर र बर्दघाट नगरपालिकाका पार्टी कार्यसमितिकै जिम्मेवार व्यक्ति समेत आफ्नो पदिय मर्यादाविपरीत पार्टीको उम्मेदवार हराउने कार्यमा सक्रिय रहेको पाइएकोले त्यस्ता प्रवृत्तिका व्यक्तिको वास्तविकता पहिचान गरि अनुशासन समितिले कारवाही गर्नको लागि आफ्नो हात नकमाउन पनि खबरदारी गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद चौधरीले करिब साढे ९ हजार मत मात्र प्राप्त गरि हार व्यहोर्नुपरेको प्रति आक्रोश व्यक्त गर्दै अन्तरक्रियाका वक्ताहरूले सधैंभरी काङ्ग्रेस रहने तर निर्वाचनको समयमा मतदान गर्दा अन्य दललाई सहयोग गर्नेहरूलाई कडा कारवाही नगरिए इतिहासले पनि सराप्ने बताए । उनीहरूले आफ्नो स्वाभिमानको रक्षा गर्दै क्रियाशील सदस्यता बढाउने मात्र नभइ अन्तरघातीहरुलाई साधारण र क्रियाशील सदस्यसहित सबै पदबाट निलम्बन गर्ने सुझाव पनि दिएका थिए ।

नेपाली काङ्ग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क)का सभापति अनुरेश जैसवालको अध्यक्षतामा बैठकसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठक, नेपाली काङ्ग्रेस नवलपरासीका उपसभापति अनिल गौड, सचिवद्वय उमेशचन्द्र यादव र कुलदीप आचार्य, नवलपरासी क्षेत्र नं. २ का काङ्ग्रेस उम्मेदवार भीमबहादुर थापा, नेपाल महिला संघकी केन्द्रीय सदस्य कमला पराजुली, क्षेत्रीय अध्यक्ष मुकुल कुमार आचार्य लगायतले पार्टीभित्र मौलाएको चरम गुटबन्दीलाई सदाको लागि अन्त्य गर्न अनुशासन समितिले कारवाहीका लागि सिफारिस गरिएका व्यक्तिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।
यसपूर्व नेपाली काङ्ग्रेस जिल्ला अनुशासन समितिले पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल, महासमिति सदस्य एवं लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवारसहित एक दर्जन नेता कार्यकर्तालाई कारवाहीको लागि सिफारिस गरिएको क्षेत्रिय सचिव एवं कार्यक्रम सञ्चालक रामप्रसाद जोशीले जानकारी दिए ।
कार्यक्रममा वडा, पालिका, क्षेत्यत्रि तहका नेताकार्यकर्ता एवं जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
बैठकले नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाको राजीनामा स्वीकृत नगर्ने तथा निर्वाचनको समयमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई हराउने अभियानमा लागेका नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता र शुभेच्छुकहरुलाई साधारण सदस्यसमेत नरहने गरि कारवाही गरिने निर्णय गरेको क्षेत्रीय सभापति आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया