धादिङबाट धार्मिक रथयात्रा : देशभर सञ्चालन हुने

धादिङबाट धार्मिक रथयात्रा : देशभर सञ्चालन हुने


  • विकाश रौनियार, धादिङ

धादिङमा आयोजना हुन लागेको नृसिंह धाम पुरुषोत्तम महामहोत्सवको अवसरमा चैत १ गतेदेखि २५ गतेसम्म देशव्यापी रूपमा रथयात्रा सञ्चालन गरिँदै छ ।

शनिबार (३० फागुन) धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले रथयात्रा कार्यक्रमको जानकारी दिएको हो । समितिका अनुसार विगत तीन वर्षदेखि डा. श्रीवास कृष्णदास ब्रह्मचारीको सत्संकल्पमा नेपाल तथा विदेशका विभिन्न पवित्र तीर्थस्थलहरूमा निरन्तर रूपमा सञ्चालन हुँदै आएको १०८ तीर्थ यज्ञ कार्यक्रमको पूर्णाहुति पवित्र पुरुषोत्तम महिनाको पूर्वसन्ध्यामा नृसिंह धाममै सम्पन्न गरिनेछ ।

उक्त कार्यक्रमको समापन धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नृसिंह धाममा हुने जनाइएको छ । सोही अवसरलाई विशेष बनाउँदै देशव्यापी रथयात्रा आयोजना गर्न लागिएको नृसिंह धाम पुरुषोत्तम महामहोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवलाई भव्य व्यवस्थित र व्यापक बनाउने उद्देश्यले रथयात्रासहित विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछन् । महोत्सव अवधिभर पुरुषोत्तम स्नान, व्रत–कथा तथा महात्म्य श्रवण, प्रत्येक गोत्रका लागि छुट्टाछुट्टै हवनकुण्डको व्यवस्था गरी वैदिक विधिअनुसार हवन–पूजा गरिने कार्यक्रम रहेको छ।

त्यसैगरी, देश तथा विदेशबाट आमन्त्रित साधु–सन्त, विद्वान् तथा कथा वाचकहरूको सहभागितामा प्रवचन तथा धर्मोपदेश कार्यक्रमसमेत सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।