✍ शेखर ढुंगेल
हामी धनी छौँ, सोच गरिब नभए पुग्छ
हामी धनी यो मानेमा पनि छौँ कि –
हाम्रो आफ्नै मौलिक विविध भाषाहरूको भकारी छ
जुन अमेरिका जापान बेलायत यूरोपसँग छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
हाम्रो मौलिक सांस्कृतिक विशेषता र विविधता
अन्य विकसित मुलुकहरुसँग छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
मुगल र इसाइले १२/१३ सय वर्ष लगातार
करोडौँ सनातनीलाई मार्दा
लाखौँ मठ-मन्दिर धरोहर खरानी बनाउँदा पनि
हामी अझै उठ्यौँ उठायौँ उठ्दै छौँ
जुन धैर्य र कलाको विविधता अन्य मुलुकमा छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
विश्वमै हिमाल पहाड तराइ प्राकृतिक विविधता र सुन्दरता
अर्को कुनै विकसित मुलुकमा चाहिँ छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
मन्दिर नै मन्दिर गुम्बा नै गुम्बाको
अलौकिक कालिगढ़ीको अर्को कुनै देश छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
विश्वको ठुलो दुई सनातन र बुद्ध धार्मिक आस्थाको केन्द्र हो
जुन अर्को कुनै देशमा चाहिँ छैन
हामी धनी यो मानेमा पनि छौँ कि –
धेरै दुर्लभ फूलपातदेखि जन्तु र पशु-पंक्षी
नेपालमा बाहेक अन्य मुलुकमा छैन
यो शान्तिप्रिय सुन्दर देश विश्वकै एउटा
संग्रहालय हो – यसको आकर्षण र संरक्षण गरे पुग्छ
हामीले हाम्रो मौलिक पहिचान बचाइराखे पुग्छ
हामीले हाम्रो एकता र शान्ति जीवन्त राखे पुग्छ
हामीले हाम्रो सद्भाव मेलमिलाप अनुकरणीय पारे पुग्छ
पर्दैन नवनिर्माणका प्रतिलिपि विकासहरु
भएको पौराणिक ऐतिहासिक धरोहर संरक्षण गरे पुग्छ
वाक्क भएको छ दुनियाँ गगनचुम्बी भवनदेखि
वाक्क भएको छ दुनियाँ प्रविधिको गुलामी सहनु परेर
यही एउटा मुलुक छ विश्वमा
जहाँ योग अध्यात्म र आयुर्वेदको लागि
विश्वको नागरिकलाई स्वागत गरेर बसे पुग्छ
मौलिक पूर्वीय सभ्यताको विविधता र जैविकता
बचाइराख्न सके, सदुपयोग गर्न सके
हामीले पलायन रोज्नु पर्दैन
हामी धनी छौँ यो मानेमा सोचमा समृद्धि आए पुग्छ
आफैमा सुनको थाली हो यो देश
मात्र आयातित मानसिकताको प्रदुषणले आक्रान्त नगरे पुग्छ
हामी धनी छौँ ऋषिमुनिको तपोभूमि हो
बुद्धको जन्मथलो हो
सगरमाथाको उचाई झैँ हामीले शिर ठाडो गर्न सके पुग्छ
बौद्धिक दिमागलाई कर्मठ हातमा सिप थमाइदिए पुग्छ
विदेशीसँग हात थाप्ने दरिद्र मानसिकता त्यागेर
योग, अध्यात्म र आयुर्वेद बाँडेर खान सके पुग्छ
हामी धनी छौँ धनी हुने कला यही माटोमा खोजे पुग्छ !
प्रतिक्रिया