समुदायको समस्या पहिचान गर्दै पाथिभरा नर्सिङ कलेजका विद्यार्थी

समुदायको समस्या पहिचान गर्दै पाथिभरा नर्सिङ कलेजका विद्यार्थी


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

झापाको भद्रपुर-७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको पहिचानमा जुटिरहेका छन् । नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्रछात्राहरूले परियोजना कार्यअन्तर्गत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक अवस्था र रोगको संक्रमण बारेमा अनुसन्धान गरिरहेका हुन् ।

छात्राहरूले यस पटक हल्दिवारी–३ लाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन सार्वजनिक गर्दै दिएको जानकारीअनुसार नसर्ने रोगको प्रकोप निकै उच्च देखिएको छ । नमुना छनौट विधि अपनाएर ५ सय जना स्थानीयको अध्ययन गर्दा उच्च रक्तचाप, क्यान्सर, मधुमेहका रोगी ६० प्रतिशतभन्दामाथि भेटिएको छ भने सरूवा रोग ४० प्रतिशतमुनि देखिएको छ । उनीहरूको अध्ययनको निष्कर्ष अनुसार बदलिँदो जीवनशैली र बढ्दो विषाक्त खाद्यन्नका कारण नसर्ने रोगले समाजमा प्रभाव बढाउन थालेको हो ।

हल्दिवारी–३ स्थित रामेश्वर आधारभूत विद्यालयमा कलेजद्वारा आयोजित सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तर्गत स्वास्थ्य चेतना कार्यक्रम एवम् निःशुल्क एकदिने आँखा जाँच स्वास्थ्य शिविरसमेत सम्पन्न गरिएको थियो ।

विद्यार्थीहरूले स्वस्थ जीवनशैलीका लागि आवश्यक विभिन्न खाद्य पदार्थ, औषधीलगायतको निर्माण, उपयोग बारेमा विविध जानकारी दिँदै सामग्री प्रदर्शनी समेत गरेका थिए । आँखा जाँच स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी लगायतले लाभ समेत लिएका थिए भने प्राविधिक तथा विशेषज्ञ सेवा ओम साई पाथिभरा अस्पतालका डाक्टरहरूको रहेको थियो ।

विद्यार्थी प्रियंका बोगटीको सभापतित्व रहेको कार्यक्रमको उद्घाटन कलेजकी प्रिन्सिपल उपमा शिवाकोटी र विद्यालयकी प्रधानअध्यापक मेनका शर्मा दाहालले गरेका थिए भने सहजीकरण विद्यार्थी रोजिना बस्नेत, रीतिका सापकोटाको रहेको थियो ।

रेडक्रस झापाको ५२औं सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५२औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । शाखा सभापति लोकराज ढकालको सभापतित्व तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सम्पन्न गरिएको हो ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयमसेवा पुरस्कारबाट शाखाका पूर्व सभापति ओमप्रकाश सरावगीलाई नगद ३१ हजार १०१ सहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने उत्कृष्ट रक्तदाता सम्मानबाट ब्रम्हकुमारी राजयोग सेवा केन्द्र झापा, बन्दी विकास पुस्तकालय चन्द्रगढी, वैदेशिक रोजगार व्यवसायी संघ झापालाई कदर पत्रले सम्मान गरिएको थियो भने जिल्ला बाहिरबाट रक्तदाता सेवा पुर्याए वपत रेडक्रस उपशाखा फिक्कल इलामलाई समेत सम्मान गरिएको थियो ।

उपसभापति मित्रदेव काफ्लेले स्वगत गरेको कार्यक्रममा वार्षिक गतिविधि सभापति ढकालले प्रस्तुत गर्दै विपद व्यवस्थापन अन्तर्गत गत असोजमा आएको बाढीबाट पीडित झापा गाउँपालिका लगायतका ४२५ घर परिवारको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिएका थिए । महामन्त्री चन्द्रप्रसाद चुडालले सञ्चालन गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व ओमप्रकाश सरावगी, रेडक्रस कोशी प्रदेश सभापति नरेन्द्रप्रसाद पोखरेल तथा प्रमुख अतिथि प्रजिअ गेलालले मन्तव्य राख्दै मानव सेवाको पर्याय रेडक्रसको पहिचान रहेकोले विगतदेखि वर्तमानसम्म यस भावना अनुकुल झापा रेडक्रसले काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका थिए ।