पेट्रोलियम पदार्थको मूल्यमा १५ रुपैयाँ वृद्धि, काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्यमा १५ रुपैयाँ वृद्धि, काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार (११ चैत) मध्यरातदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ तथा डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकेको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ पर्ने भएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं पोखरा र दिपायल डिपोलाई तोकेको छ ।

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।