शपथ

शपथ


शपथको अर्थ हो-
किरिया, बाचा, प्रतिज्ञा !
जो, अकाट्य र शाश्वत हुनुपर्छ
यो खेलबाडमा बक्बकाए जस्तो हुन्न
अनि, साना नानीबाबुलाई
गुलियो ललिपप दिएर
भुलाए जस्तो पनि होइन ।

नसम्झनु- जनता नानीबाबुको स्वरूपमा
बाँचेका फगत कलिला मथिंगल हुन् भनी
बुझ्नु- शपथ खानु भनेको
झुटो आश्वासन बाँड्नु होइन
जो आफ्नो दिवास्वप्नमा
बड्बडाउने मिथ्या वाक्यहरू हुन्
न त क्षणिक आवेशमा फूलबुट्टा भरेर
सारालाई अर्पण गर्ने कागजका
रंगीचंगी फूलहरू नै ।

अतः शपथ मनको सत्य वचन हो
न कि फगत दिलको स्वार्थलिप्साको
नाटकीय शब्द,
त्यसैले ‘शपथ छातीमा हात राखेर
आफैलाई भाक्नुको समर्पण हो
अनि, कटिबद्ध बनेर
वचनको पक्का प्रतिमा भइ
सारा जनताबीच अजर अमर बन्दै
सालिक झैं मन-मुटुमा ठडिनु हो ।