नेपाल-अंग्रेज युद्धको मूल कारण – स्योराज (शिवराज)

नेपाल-अंग्रेज युद्धको मूल कारण – स्योराज (शिवराज)


सन् १८१४ भन्दा अगाडि नेपाल एक संक्रमणकालीन अवस्थामा रहेको देश थियो, जहाँ राजनैतिक रूपमा एकीकरण प्रक्रिया जारी थियो र सामाजिक रूपमा परम्परागत संरचना बलियो थियो । गोरखा राज्यका राजा पृथ्वी नारायण शाहले सुरु गरेको एकीकरण अभियानले विभिन्न साना राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार निर्माण गरेको थियो । यस अभियानले नेपाललाई बलियो बनाएको भए पनि विभिन्न क्षेत्रहरूमा प्रशासनिक चुनौतीहरू अझै कायम थिए ।

राजनैतिक रूपमा नेपाल विस्तारवादी नीतिमा अघि बढिरहेको थियो । गोरखाली शासकहरूले पूर्व, पश्चिम र दक्षिणतर्फ आफ्नो प्रभाव विस्तार गर्दै लगेका थिए । पश्चिममा कुमाउँ-गढवालसम्म र पूर्वमा सिक्किमसम्म नेपालको प्रभाव पुगेको थियो। तर यस विस्तारले छिमेकी शक्तिहरूसँग तनाव सिर्जना गरिरहेको थियो, विशेषगरी इस्ट इन्डिया कम्पनीसँग । सिमाना स्पष्ट नहुँदा बुटवल, स्योराज जस्ता क्षेत्रमा विवाद बढ्दै गइरहेको थियो, जसले पछि युद्धको रूप लियो ।

स्योराज नेपालको इतिहासमा राजनीतिक र भौगोलिक रूपमा अत्यन्त महत्वपूर्ण क्षेत्र हो, किनभने नेपाल-अंग्रेज युद्धको मूल प्रस्थान बिन्दु नै यही स्योराज थियो । यो भूमि अत्यन्त उर्वर र आकर्षक भएकाले राज्यलाई यहाँबाट उल्लेखनीय राजस्व संकलन हुने गर्थ्यो । यही उर्वरता र उच्च राजस्व सम्भावनालाई देखेर अंग्रेजहरूको ध्यान स्योराजतर्फ केन्द्रित भयो, र अन्ततः यही क्षेत्रले नेपाल-अंग्रेज युद्धको शंखघोष गर्‍यो ।

स्योराज जसलाई शिवराज पनि भनिन्छ, भारत-नेपाल सीमाना क्षेत्रमा अवस्थित एक ऐतिहासिक रूपमा महत्वपूर्ण क्षेत्र थियो, जसले नेपाल-अंग्रेज युद्ध (एङ्ग्लो-गोरखा युद्ध) को प्रारम्भ हुनुअघि महत्वपूर्ण भूमिका खेलेको थियो । प्रारम्भिक समयमा यो क्षेत्र घना जंगलले ढाकिएको थियो र मलेरियाबाट अत्यधिक प्रभावित थियो, जसका कारण यहाँ मानव बसोबास गर्न कठिन थियो । यद्यपि यी चुनौतीहरूका बाबजुद जमिन उर्वर थियो र यसमा उच्च आर्थिक सम्भावना रहेकोले बिस्तारै छिमेकी शक्तिहरूको प्रशासनिक तथा राजनीतिक ध्यान आकर्षित हुँदै गयो  ।

स्योराज नामको उत्पत्ति धार्मिक र भाषिक दुवै आधारमा भएको मानिन्छ । शिवगढी मन्दिरको उपस्थितिले यसलाई भगवान शिवसँग जोड्छ, जसलाई ‘शिवको राज्य’ भनेर बुझिन्छ । स्थानीय अवधी भाषामा ‘शिव’लाई ‘स्यो’ भनिने भएकाले ‘स्योराज’ वा शिवराज नाम विकसित भएको हुन सक्छ ।

सन् १७८६ अघि श्युराज प्यूठान राज्यअन्तर्गत प्रशासित थियो, तर कहिलेकाहीँ अवधको अधिकारअन्तर्गत बासी परगन्नाबाट कर उठाइन्थ्यो । सन् १७८६ पछि यो क्षेत्र गोरखा राज्यको एकिकरण अभियानमा गोरखा राज्यको नियन्त्रणमा आयो । गोरखा राज्यको नयाँ शासकहरूले व्यवस्थित प्रशासनिक प्रणाली लागू गरे र ‘चौधरी’ भनिने स्थानीय अधिकारीहरू मार्फत शासन सञ्चालन गरे । जमिनको आर्थिक महत्व बुझेर गोरखालीहरूले जंगल फँडानी, जमिन नापजाँच तथा बसोबास प्रोत्साहन गर्न थाले । समयसँगै स्योराज एक उत्पादनशील कृषि क्षेत्रमा परिणत भयो । यस अवधिमा यसलाई प्रशासनिक रूपमा ‘टप्पा’को रूपमा मान्यता दिइएको थियो ।

खेती विस्तार र बसोबास बढ्दै जाँदा श्युराज आर्थिक रूपमा अत्यन्त महत्वपूर्ण बन्यो । विशाल कृषियोग्य जमिन, उच्च राजस्व उत्पादन र नयाँ बसोबासका लागि उपलब्ध जमिनका कारण यसको महत्व बढ्दै गयो । तर यसैसँगै विवाद पनि बढ्न थाल्यो । क्षेत्रको सिमाना स्पष्ट नभएकाले नेपाल र इस्ट इन्डिया कम्पनीबीच दाबी-प्रतिदाबी सुरु भयो । पहिले दुर्गम जंगल क्षेत्र रहेको श्युराज बिस्तारै राजनीतिक विवादको प्रमुख केन्द्र बन्न पुग्यो ।

गोरखाली सेनाले पाल्पा राज्य जितेर बुटवल र स्योराजमा नियन्त्रण स्थापित गरेपछि स्थिति झन जटिल बन्यो । नेपालले आफ्नो अधिकार दाबी गरिरहँदा बेलायतीहरूले भने सन् १८०१ मा अवधका नवाबबाट उक्त क्षेत्र आफूहरूले प्राप्त गरेको दाबी गरे । स्योराज रतनपुर बासी परगन्नाको भाग, करिब ९०,००० बिघा जमिनमा फैलिएको थियो र यसमा २२ वटा गाउँ समावेश थिए, जसले यसलाई रणनीतिक र आर्थिक रूपमा महत्वपूर्ण बनाएको थियो ।

समग्रमा, स्योराज मलेरिया प्रभावित जंगलबाट उर्वर कृषि क्षेत्रमा रूपान्तरण भएको क्षेत्रको रूपमा महत्वपूर्ण छ, जसले गोरखा प्रशासनको प्रयासलाई झल्काउँछ । साथै, यसको स्वामित्वसम्बन्धी विवादले एङ्ग्लो-गोरखा युद्धको सुरुवातमा निर्णायक भूमिका खेलेको थियो र आधुनिक नेपालको सीमाना निर्धारणमा समेत गहिरो प्रभाव पारेको थियो ।

तनाव बढ्दै जाँदा बेलायतीहरूले स्योराजमा दाबी गरे, तर नेपाल सरकारले आफ्नो दाबी छोड्न अस्वीकार गर्‍यो । त्यसपछि गभर्नर-जनरल लर्ड हेस्टिङ्सले गोरखाली सेनालाई विवादित क्षेत्रबाट हट्न आदेश दिए र बुटवलमा बेलायती अधिकार स्थापित गर्न प्रहरी चौकी स्थापना गरे ।

सन् १८१४ मे महिनामा नेपाली सेनाले बुटवलस्थित बेलायती प्रहरी चौकीमा आक्रमण गर्‍यो । यस घटनामा १८ जना प्रहरी, उनीहरूको अधिकारी मुनाराम खानसहित मारिए । यसले बेलायतीहरूलाई अत्यन्त आक्रोशित बनायो र यसलाई आफ्नो शक्तिमाथिको सीधा चुनौती ठानी सन् १८१४ नोभेम्बर १ मा औपचारिक रूपमा युद्ध घोषणा गरियो ।

युद्ध सुरु भएपछि इस्ट इन्डिया कम्पनीले नेपालविरुद्ध पाँच विभिन्न मोर्चाबाट योजनाबद्ध आक्रमण गर्‍यो – बुटवल-पाल्पा क्षेत्र, सारण-मकवानपुर मार्ग, गोरखपुर-बुटवल क्षेत्र, देहरादुन (नालापानी) क्षेत्र, र कुमाउँ-गढवाल क्षेत्र । यो बहुदिशात्मक रणनीति नेपाललाई चारैतिरबाट घेराबन्दी गरी कमजोर पार्ने उद्देश्यले बनाइएको थियो ।

अन्ततः नेपाल पराजित भयो र सन् १८१६ मार्च ४ मा सुगौली सन्धि भयो । यस सन्धिअनुसार धेरै भूभाग गुमाइए, तर स्योराज त्यही वर्ष डिसेम्बर ८ मा नेपाललाई ९ महिनापछि फिर्ता गरियो ।

फिर्ता भएको स्योराज टप्पामा २२ वटा गाउँ थिए – सनई, शिवपुर, गणेशपुर आदि – जहाँ करिब १,५०० घरधुरी र ८,५०० जनसंख्या थियो । प्रशासनिक रूपमा चौधरी (स्थानीय मुखिया), अमिल (राजस्व अधिकारी) र हाकिम (प्रशासकीय अधिकारी) मार्फत शासन सञ्चालन हुन्थ्यो । झुङ्घा चौधरी, मनसुखा चौधरी र सन्तोखी चौधरी जस्ता प्रमुख जमिन्दारहरूले भूमि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

स्योराज फिर्ता भएपछि सीमा निर्धारणका क्रममा जंगे पिल्लर राख्दा केही साना गाउँहरू भारततर्फ परे, विशेष गरी बदनी र शोहरतगढ क्षेत्रहरूमा । तर स्योराजको करिब ९० प्रतिशत भूभाग नेपालभित्र नै पऱ्यो ।

इतिहासकारहरूका अनुसार स्योराज नेपाललाई फिर्ता गरिनुका मुख्य कारणहरूमा मलेरियाको व्यापक समस्या, बेलायतीहरूका लागि प्रशासन सञ्चालनमा देखिएका कठिनाइहरू साथै नेपाललाई वार्षिक २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने दायित्व र  स्योराज क्षेत्रमा निरन्तर नियन्त्रण कायम राख्दा नेपालको आर्थिक अवस्था झन् जटिल बन्ने र पुनः युद्ध हुने सम्भावना बढ्ने अवस्था समेत देखिएकाले अन्ततः उक्त क्षेत्र नेपाललाई फिर्ता गरिएको मानिन्छ ।

सुगौली सन्धि  भएको ४४ वर्षपछि मात्र ‘नयाँ मुलुक’ अन्तर्गत बाँके, बर्दिया, कैलाली र कञ्चनपुर  क्षेत्रहरू पुनः नेपाललाई फिर्ता गरियो ।